काठमाण्डौ । विश्वमा ६० लाखभन्दा बढीको ज्यान लिइसकेको कोभिड–१९ महामारीले दुई वर्ष पूरा गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संकट सुमाप्त भयो भनेर सोच्नु ‘महाभूल’ हुने चेतावनी दिएका छन्। उनले लगभग ३ अर्ब मानिस अझै पनि कोभिडविरुद्ध खोपको पहिलो खुराकका लागि पर्खिरहेको रहेको भन्दै चिन्ता पनि प्रकट गरेका छन्। 

महामारीको दुई वर्ष पूरा भएको अवसरमा आफ्नो सन्देशमा गुटेरेसले भनेका छन्, ‘दुई वर्षअघि कोरोनाभाइरसले विश्वभरका मानिसको जीवन परिवर्तन गरेको थियो, विश्वको कुनाकुनामा तीव्रगतिमा फैलिएको थियो, अर्थतन्त्र, यातायात सञ्जाल र आपूर्ति शृंखला ठप्प भयो। विद्यालयहरु बन्द भए। मानिसहरु आफ्ना प्रियजनबाट अलग भए र लाखौं गरिबीको त्रासमा फसे।’

विश्वका धेरै भागले ‘अप्रत्याशित सार्वजनिक स्वास्थ्य उपाय’ र खोपहरु विकास र परिचालन गर्ने असाधारण द्रुत तरिकाले महामारीलाई नियन्त्रणमा ल्याइरहेको पनि गुटेरेसले बताए। ‘यद्यपि यो महामारी समाप्त भयो भनेर सोच्नु ठूलो गल्ती हुनेछ’, उनले भने। 

गुटेरेसले महामारीको प्रकोपपछि विगत दुई वर्षमा कोभिड–१९ का ४४ करोड ६० लाखभन्दा बढी संक्रमित भेटिएको, ६० लाखभन्दा बढीले ज्यान गुमाएका र असंख्य मानिसको मानसिक स्वास्थ्य बिग्रँदै गएको बताए। उनले कोरोनाविरुद्धको खोपको ‘अनुपयुक्त रुपमा असमान’ वितरणका बारेमा चिन्ता व्यक्त गरे। ‘उत्पादकहरुले प्रतिमहिना १.५ अर्ब डोजहरु उत्पादन गरिरहेका छन् तर ३ अर्ब मानिस अझै पहिलो डोजका लागि पर्खिरहेका छन्’, उनले भने। 

यो असफलता गरिब देशका जनतालाई भन्दा धनी देशका जनतालाई प्राथमिकता दिने नीतिको सीधा परिणाम रहेको पनि उनले बताए। – एजेन्सी