काठमाण्डौ । सातै प्रदेशका मुख्यमन्त्रीहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफूहरुको स्रोतले मात्र नपुग्ने भन्दै संघीय सरकारसँग वित्तीय सहयोग मागेका छन् । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिसँगको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले केन्द्रबाट पनि वित्तीय सहयोग उपलब्ध हुनुपर्ने माग गरेका हुन् । 

संघीय सरकारका प्रवक्ता डा. युवराज खतिवडाले शुक्रबार सबै प्रदेशका मुख्यमन्त्रीसँग कोरोना रोकथाम र बचावटको विषयमा छलफल भएको उल्लेख गर्दै उनीहरुबाट वित्तीय दायीत्व थपिनसक्ने भन्दै सहयोग माग भएको बताएका हुन् । 

'स्वास्थ्य सामाग्री र उपकरण खरीदको कुरामा आफूहरुलाई निकै ठूलो वित्तीय दायीत्व सिर्जना हुनसक्ने भन्दै मुख्यमन्त्री ज्यूहरुले केन्द्रबाट सहयोग हुनुपर्ने कुरा राख्नुभएको छ ।' डा. खतिवडाले भने-'उहाँहरुले सो विषयमा प्रादेशिक स्तरमा निर्माण भएका कोरोना कोषको विषयमा समेत विवरण पेश गर्नुभएको थियो । उहाँहरुले स्थानीय तहसम्मै स्रोत परिचालनको व्यवस्थापन गर्नुपर्दा थप वित्तीय दायीत्व सिर्जना हुनु स्वभाविक हो, त्यसमा केन्द्र सरकारले केही न केही गर्छ ।' 

उच्चस्तरीय समितिसँगको छलफलमा मुख्यमन्त्रीहरुले आ-आफ्नो प्रदेशमा कोरोना संक्रमण रोकथामका लागि भएका तयारी, प्रदेशको अवस्था र गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए । उनीहरुले आ-आफ्नो प्रदेशमा क्वारेन्टाइन केन्द्रको स्थापना गरिएको, यात्रुको परीक्षण गरिएको, आइसोलेटेड बेड निर्माण गरिएको तथा दैनिक आवागमनमा गरिएको कडाई तथा राहात व्यवस्थापन लगायतका विषयमा अपडेट दिनुभयो । 

सो क्रममा समितिका अधिकारीहरुले केही दिनअघि क्वारेन्टाइन केन्द्र संचालन सम्बन्धी मापदण्ड पठाइएको स्मरण गराएका थिए । मुख्यमन्त्रीहरुले पनि सोही मापदण्ड अनुसार काम भएको भन्दै आश्वस्त पारेका थिए ।