काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा सहयोग गरेको छ । महासंघका अध्यक्ष भवानी राणाले उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखेरललाई आज सिंहदरवारमा गई ५९ लाखको चेक हस्तान्तरण गरिन् भने बांकी ९१ लाख बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतको सामग्रीहरू महासंघले सहयोग दिने छ । सो अवसरमा महासंंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोर प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल सहितको उपस्थिति थियो ।  

महासंघले लकडाउनका समयमा काम विहीन भई बसेका श्रमिकहरूलाई खाद्यान्न सामग्रीहरू उपलव्ध गराउने छ । आफ्नो देशैभर रहेको संजाल मार्फत महासंघले उद्योग व्यवसायमा काम गर्ने श्रमिक कामदारहरूको तथ्यांक संकलन गरीरहेको बताएको छ । महासंघले यसअघि सरकारलाई दशहजार थान मास्क र २ सय पचास सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरिसकेको छ भने थप स्वास्थ्य सामग्री संकलनमा पनि महासंघ लागिरहेको छ । महासंघले संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई मनन गर्दै मुलुकलाई परेको अप्ठेरो समयमा सरकारलाई हरतरहले सहयोग गर्दै आएको जनाएको छ ।
त्यसैगरी महासंघले कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, नीति तथा स्वास्थ्य योजनाहरूको प्रभावकारी कार्यान्वयनमा महासंघले आफ्ना सबै संयन्त्रको प्रभावकारी परिचालन मार्फत सहयोग पुरयाउदै आएको छ । महासंघका सवै सदस्य संघ संस्था उद्योग प्रतिष्ठानहरूलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निष्पक्ष रूपमा विक्री वितरण गर्न तथा आम जनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्ने र सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको विक्री वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रह समेत गरेको छ ।