काठमाण्डौ । कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको काठमाण्डौको वीर अस्पतालमा मृत्यु भएको छ । 

अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बिजशालासँग टेलिफोनमा कुरा गर्दै कोरोना आशंका गरिएकी युवतीको मृत्यु भएको पुष्टि गरे । 

काठमाण्डौकै चन्द्रागिरी नगरपालिका वडानम्बर १५ की ती युवतीलाई बेहोसी अवस्थामा सोमबार बिहान वीर अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । 

पारिवारिक सदस्यहरुलाई उद्धृत गर्दै सेञ्चुरीले बताएअनुसार यी युवती अघिल्लो साता भारतबाट नेपाल आएकी थिइन् । अस्पतालमा ल्याउँदा उच्च ज्वरोको कारण उनको अवस्था गम्भीर बनिसकेको थियो । सास फेर्न समेत ग्राहो भएपछि आकस्मिक उपचार सुरु गरे पनि त्यसले काम गरेन र उनको मृत्यु भएको सेञ्चुरीले बताए । 

वीरका चिकित्सकहरुले ती युवतीलाई कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरेका छन् । युवतीको स्वाब संकलन गरी परीक्षणका लागि टेकूस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ । रिपोर्ट आउन बाँकी छ । 

यसअघि भारतबाटै केही दिनअघि नेपाल आएका धादिंगका अर्का एक युवकको समेत पाटन अस्पतालमा सोमबार बिहान नै मृत्यु भएको थियो । ती युवकलाई समेत कोरोना संक्रमणको आशंका गरिएको छ । नमूना परीक्षणका लागि टेकू पठाइएको र त्यसको समेत रिपोर्ट आएको छैन ।