काठमाण्डौ । सरकारले कोलकाताबाट भन्सार विन्दूमा आएर अलपत्र परेका मालसामानलाई नेपाली बजारसम्म ल्याउन दिने भएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोलकाताबाट ठूलो संख्यामा सामान लिएर भन्सार विन्दूमा अलपत्र परेका ढुवानीका साधनलाई नेपालसम्म ल्याउने व्यवस्था गरिने बताए । ‘भन्सार विन्दूहरुमा ढुवानी गर्ने साधन, कुल्ली, भन्सार एजेन्ट नभएका, अप्ठ्यारो भएको सन्दर्भमा भन्सार विन्दूबाट सामान छुटाउन व्यवसायीलाई अनुरोध गर्ने निर्णय गरिएको छ।’ उनले भने-'आवश्यक कागजातको छायाँकपीका आधारमा क्लियर गरी भन्सार विन्दूमा अड्किएका सामान छिटोभन्दा छिटो उपभोक्ताको घरदैलोमा पुर्याइने व्इवस्था हुनेछ । भन्सार विन्दूमा अलपत्र सामानमध्ये अधिकांश दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित छन् । यसका लागि निजी क्षेत्रलाई समेत अनुरोध गर्ने निर्णय भएको छ । 

सरकारले कतिपय उद्योगमा कार्यरत मजदुर अलपत्र परेका सूचना आएको भन्दै उनीहरुलाई सरकारले नै सुरक्षित ढंगले गन्तव्यमा पुर्याइदिने व्यवस्था समेत गर्ने भएको छ । 

यस्तै, विदेशमा बेखर्ची भई अलपत्र परेका नेपाली विद्यार्थीका आमाबुबाले खर्च पठाउन चाहेमा विदेशी मुद्रा सटहीका लागि सहजीकरण गरिदिने निर्णय समेत भएको छ । 

सरकारले देशका विभिन्न क्षेत्रमा अलपत्र पर्यटकलाई उद्धार गर्ने काम सुरु भएको उल्लेख गर्दै हवाई मार्गबाट ल्याउन असंभव पर्यटकलाई सडकमार्ग हुँदै ल्याउने र त्यसरी ल्याउँदा उनीहरुलाई पूर्ण सुरक्षाका साथ ल्याउने गरी पर्यटन बोर्डलाई जिम्मा दिएको छ । 

'सरकारले देशका सबै खालका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई पेशागत व्यवसायिक धर्म र मूल्यमान्यताबाट विचलित नहुन आह्वान गरेको छ ।' शंकाकै भरमा बिरामीको उपचार गर्दिँन भन्न उनीहरुले नपाउने उल्लेख गर्दै सरकारका प्रवक्ता डा. खतिवडाले भने-'उहाँहरुले काम गर्नका लागि सुरक्षित वातावरण बनाउने काम सरकारले गर्छ ।' 

शुक्रबार नै सरकारले पोखरामा अवस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोनाको डेडिकेटेड अस्पताल बनाउने प्रदेश सरकारको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।