काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुला गरेको छ।  क्यान र एमएसटीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुला गरेको जनाएको हो।  

डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्न पर्ने हुन्छ। कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झन्डामा प्रयोग हुने रातो र निलो रङको प्रयोग गर्न पर्ने विज्ञप्तिमा जनाइएको छ। 

डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्न पर्ने हुन्छ।      

क्यानले विज्ञापन एजेन्सी एडप्याडमार्फत माई सेकेन्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकका रुपमा पाएको हो। एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कारस्वरुप नगद १ लाख रुपैयाँ पनि हात पार्नेछ।  

नेपालले जुलाईमा विश्वकप लिग टुअन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोस्रो शृंखलामा स्कटल्यान्ड र नामिबियाको सामना गर्नेछ। 

आफ्नो डिजाइन दिने अन्तिम मिति यसै महिनाको १७ तारिक सम्म रहेको छ। डिजाइन क्यानको ईमेल info@cricketnepal.org मा गर्नुपर्ने हुन्छ भने यससम्बन्धी सम्पूर्ण जानकारी क्यानको वेबसाइटमा पनि राखिएको गिरीले जानकारी दिए। छनोट समितिमा क्यानका तपÞर्mबाट २ जना र एडप्याडका तपÞर्mबाट १ जना सम्मिलित हुनेछन्। 

यसैबीच माई सेकेन्ड टिचरले यसै महिनाको सुरुआतमा आयोजना भएको नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाको उपाधि जित्ने नेपाली टोलीलाई नगद ५ लाख रुपैयाँका साथै उक्त शृंखलाका क्रममा डेब्यु गर्ने ४ जना खेलाडी कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई जनही नगद १ लाख रुपैयाँ केही दिनमनै एक कार्यक्रमको आयोजना हस्तान्तरण गर्ने भएको छ। 

‘हामीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसँग खुला प्रतिस्पर्धाबाट डिजाइन छनोटका लागि सहकार्य गरेका हौँ। आशा छ, यसमा धेरै भन्दा धेरैले भाग लिने छन् र नेपाली टोलीले सबैको आँखामा बस्ने खालको जर्सीको डिजाइन पाउनेछ’, माइ सेकेन्ड टिचरका सहसंस्थापक सुलभ बुढाथोकीले भने, ‘उत्कृष्ट हुने डिजाइन नेपाली टोलीले आगामी दिनमा हुने प्रतियोगितामा त्यसैअनुरूप प्रयोग गर्नेछ भने उत्कृष्ट डिजाइन गर्नेलाई पुरस्कारस्वरुप नगद १ लाख रुपैयाँ पनि माइ सेकेन्ड टिचले प्रदान गर्नेछ।’