काठमाण्डौ । माछापुच्छ्रे बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ शुक्रबार देशका विभिन्न ४ वटा व्यापारिक संघसंस्थाहरुमा क्यूआर कोड सेवा सुरुवात गरेको छ । 

प्रदेश नम्वर २ को गोलबजारस्थित पुरानो चोहर्वा हाटबजार, बाग्मति प्रदेशको चितवन नारायणघाटस्थित कृषि हाटबजार चितवनमा संचालित विभिन्न यातायात व्यवस्था समितिहरु भरतपुर मलमल यातायात, चितवन यातायात, संयोग नेपाल यातायात, मुक्तिनगर यातायात, पूर्वी चितवन यातायात, संयुक्त रुट व्यवस्थापन समिति चितवन, यस्तै, गण्डकी प्रदेशको कावासोतीस्थित अमलटारी मध्यवर्ती होमस्टेमा गरी जम्मा ४ वटा व्यापारिक स्थानहरुमा क्यूआर कोड सेवा सुरु गरेको हो । 

नगदरहित कारोबारलाई प्रवद्र्धन उद्देश्यका साथ बैंकले शुक्रबार देशका विभिन्न स्थानहरुमा क्यूआर कोड हस्तान्तरण कार्यक्रमको आयोजना गरेको हो । सो सेवा सुरु भएसँगै ग्राहकहरुले आफूले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् । 

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झञ्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानु नपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रामक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।  

स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवासुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्सियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।