काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्या सब्याक’ योजना ल्याएको छ। यो योजनाले ग्राहकलाई रु ५० र रु १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढी मेन ब्यालेन्स पाइने सुनिश्चित गरेको छ।

यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तीमा हाल पाइने रु ४९.०२ भन्दा बढी अर्थात रु ५१ मेन ब्यालेन्स प्राप्त गर्नेछन्। त्यसैगरी रु १०० को रिचार्जमा अब कम्तीमा विद्यमान रु ९८.०४ भन्दा बढी रु १०२ मेन ब्यालेन्स पाउँछन्। 

यो योजना आज आइतबारबाट लागू भएको छ र १५ दिनका लागि सञ्चालनमा रहनेछ।

योजनाअवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमरहित रुपमा प्रत्येक रिचार्जमा विद्यमानभन्दा बढी मेन ब्यालेन्स प्रदान गरिने यो योजनाको प्रमुख विषेशता हो। रु ५० रिचार्ज गर्ने ग्राहकले यो योजनामा अधिकतम रु १०० सम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्छन् र त्यसैगरी रु १०० रिचार्ज गर्नेले रु २०० सम्म मेन ब्यालेन्स पाउनेछन्।

क्रिसमस तथा नयाँ वर्ष २०२१ को अवसरमा ग्राहकलाई रिचार्जमा थप मेन ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ। रिचार्ज कार्ड, भर्चुअल फन्ड ट्रान्सफर (भीइफटी) तथा अनलाइन जुनकुनै पनि माध्यमबाट गरिएको रु ५० र रु १०० को प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ। यो योजना पुस १९ गतेसम्म लागू हुनेछ।