काठमाण्डौ । विरोधका बाबजुद ताइवानले देशमै विकास गरिएको कोरोनाविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ। 

ताइवानमा विकास गरिएको कोरोनाविरुद्धको ‘मेडिजेन’ नामक भ्याक्सिनलाई त्यहाँका स्वास्थ्य मन्त्रालयले गत महिना आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो। भ्याक्सिनको क्लिनिकल परीक्षण पूरा नभईकनै स्वास्थ्य मन्त्रालयले आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको थियो। 

ताइवानको खोप अभियानको प्रयासहरुलाई भ्याक्सिनको आपूर्तिमा ढिलाइ र खोपप्रति मानिसहरुको हिच्किचाहटले प्रभावित पारिरहेको छ। 

मानिसहरुलाई आश्वस्त पार्नका लागि ताइवानका राष्ट्रपति टिसाई इङ–वेनले आज सोमबार मेडिजेन भ्याक्सिन लगाएकी छन्। नियमनकारीहरुले मेडिजेनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिए पनि यसको तेस्रो चरणको क्लिनिकल परीक्षण पूरा हुन भने बाँकी रहेको छ। 

उता भ्याक्सिन निर्माता कम्पनीले भने भ्याक्सिनमा कुनै पनि सुरक्षा समस्या नदेखिएको र भ्याक्सिनले विकास गरेको एन्टीबडी एस्त्रेजेनेकाले विकास गरेकोभन्दा खराब नभएको दाबी गरेको छ। 

मेडिजेनको अन्तिम चरणको परीक्षण यो वर्षको अन्त्यतिर पाराग्वेमा गरिने अनुमान गरिएको छ। यो भ्याक्सिन नोभ्याक्सले विकास गरेको भ्याक्सिनजस्तै ‘रिकम्बिन्यान्ट प्रोटिन भ्याक्सिन’ हो। 

‘हामीले धेरै परीक्षणहरु गरेका छौँ र यो भ्याक्सिन कति सुरक्षित छ भनेर सबैले देखेका छन्। यो भ्याक्सिनको एकदमै थोरै साइड इफेक्टहरु देखिएको छ र यो लाउँदा ज्वरो लगभग देखिएको छैन। त्यसैले मलाई लाग्छ सबैजना भ्याक्सिनप्रति ढुक्क हुन सक्छन्’, मेडिजेनका सीईओ चाल्र्स चेनले रोयटर्ससँगको कुराकानीमा भनेका छन्। 

तर मुख्य विपक्षी पार्टी कुओमिनताङको विरोधका कारण यो भ्याक्सिनको प्रयोगमा भने बादल मडारिएको छ। विपक्षी पार्टी कुओमिनताङले मेडिजेन भ्याक्सिन असुरक्षित रहेको र आमसर्वसाधारणमा प्रयोग गर्न हतार गरिएको भन्ने आरोप लगाएको छ। 

पार्टीका दुईजना शीर्ष सदस्यले अपर्याप्त परीक्षणका कारण भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि रोक लगाउन अदालतसमक्ष माग गरेका छन्।

ताइवानले मोर्डना र एस्त्रेजेनेका भ्याक्सिन प्रयोग गरिरहेको छ तर राष्ट्रपतिले भने मेडिजेन भ्याक्सिन लगाएकी छन्। उनलाई खोप लगाएको दृश्य फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। 

ताइवानका ७ लाख मानिसहरु मेडिजेन भ्याक्सिन लगाउनका लागि तयार रहेका छन्। यो भ्याक्सिन दुई डोज लगाउनुपर्छ। पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनुपर्ने बताइएको छ। 

ताइवानमा अहिले दैनिक १० जना कोरोना संक्रमित देखिने गरेका छन्। ताइवानलाई कोरोना संक्रमण रोक्न सफल देशका रुपमा लिइएको छ। तर गत मे महिनामा संक्रमण बढेसँगै डेल्टा भेरियन्ट फैलन सक्ने चिन्ता व्यक्त गरिएको छ। 

मेडिजेनको ५० लाख डोज अर्डर गरिएको छ तर ताइवान सरकारले भ्याक्सिन लगाउनका लागि कसैलाई पनि बाध्य नपारिने जनाएको छ। यतिबेला ताइवानका ५ प्रतिशतभन्दा कम अर्थात २ करोड ३५ लाख जनसंख्याले मात्रै पूर्ण रुपमा कोरोनाविरुद्धको खोप लगाएका छन्। त्यस्तै कुल जनसंख्याको ४० प्रतिशतले सिंगल डोज लगाएका छन्। –एजेन्सी