काठमाण्डौ । नेपाल धितोपत्र बोर्र्डले नेपाल स्टक एक्सचेञ्जलाई क्लियरिङ्ग बैंक थप्न तथा काठमाडौं उपत्यका बाहिर दलाल व्यवसायीहरुको शाखा विस्तार गर्ने वा दलाल व्यवसायी थप गरी क्षमता विस्तार गर्न पुनः निर्देशन दिएको छ । 

सोमबार बोर्डका प्रवक्ता निरज गिरीले एक विज्ञप्ति प्रकाशित गर्दै नेप्सेलाई त्यस्तो निर्देशन दिएका हुन् । 

आइतबारदेखि दोहोरो अंकमा घटिरहेको बजारप्रति लक्षित गर्दै लगानीकर्तालाई हतोत्साही नभई लगानी गर्न र बजार घट्नैपर्ने खास कारण केही नभएकोले नअत्तालिन आग्रह समेत गरेको छ । 

बजार सुधार गर्दे लगिएको, समग्र अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको र धेरै जसो सूचिकृत संगठित संस्थाहरुको कार्य सम्पादनको स्थिति सन्तोषजनक रहेकोले लगानीकर्ताहरु बजारको अवस्था प्रति हतोत्साहित हुने अवस्था देखिदैन । विज्ञप्तिमा भनिएको छ । 

धितोपत्र बजारको हालको स्थितिलाई आफूहरुले सूक्ष्म रुपले हेरिरहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छः धितोपत्र लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको आधारभूत तथा प्राविधिक पक्षको जानकारी लिई हतोत्साहित नभई हल्लाको पछि नलागी सुझबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन आग्रह छ ।

बजारमा के के भए सुधार ?
बोर्डका अनुसार विगत केही समय यता बोर्डले स्टक मार्केटको विकास तथा सुधारका लागि विभिन्न कार्यहरु भइरहेका छन् । वास्तविक क्षेत्र (Real Sector) का संगठित संस्थाहरुले जारी पूँजीको दश प्रतिशत सार्वजनिक निष्काशन गर्न सक्ने,Fixed Price  को सट्टा Free Pricing मा निष्काशन गर्न सकिने, IFC, ADB जस्ता अन्तराष्ट्रिय वित्तिय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्नसक्ने लगायतको व्यवस्था भएको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लाई नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई लागू गरेको छ । जसले वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजारमा प्रवेश सहजिकरण भई दोस्रो बजार व्यापक हुने र यसले बजारको संरचनात्मक सुधार हुने बोर्डले विश्वास व्यक्त गरेको छ । यस्तै, सार्वजनिक निष्काशन प्रक्रियालाई थप सरल, व्यवस्थित, पारदर्शी तथा छिटोछरितो बनाई सार्वजनिक निष्काशन लागतलाई समेत न्यून गर्न बोर्डले यही माघदेखि ASBA प्रणाली लागू गर्ने निर्णय गरेको छ । यो प्रणाली लागू भएपश्चात धितोपत्रको प्राथमिक बजारमा संरचनात्मक परिवर्तन हुने अपेक्षा बोर्डको छ । 

बोर्डले बजार सुधार कार्यक्रम अन्तर्गत गत माघदेखि पूर्ण अभौतिकिकरण गरी पूर्ण स्वचालित धितोपत्र कारोबार, बजारको गहिराई हेर्न सक्ने, धितोपत्र दलाल व्यवसायीको शुल्कलाई उल्लेख्य रुपमा घटाइएको, हकप्रद तथा बोनश सेयर सिधै आफ्नो डिम्याट खातामा जम्मा हुने व्यवस्था गरी लगानीकर्ताहरुलाई कारोवार गर्न सहजीकरण गर्दै आइरहेको छ ।