काठमाण्डौ । धितोपत्र बिक्री गरेपछि समयमै डीआईएस तथा ईडीआइएस नगर्दा क्लोजआउट (सेयर सर्टेज) को समस्या यथावत छ।

सीडीएसए एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार हाल दैनिक १०० हाराहारी क्लोजआउट पर्ने गरेको छ। जसबापत जरिवाना मात्रै २० लाख रुपैयाँ हाराहारी लगानीकर्ताले तिर्दै आउनुपरेको छ।

सेयर बिक्रीपश्चात डीआईएस स्लिप सम्बन्धित डीपीलाई नदिँदा र मेरो सेयर एप्समार्फत ईडीआइएस नहुँदा सेयर अभाव भई बिक्रीबापतको कुल रकमको २० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ।

धितोपत्रको दोस्रो बजार गुल्जार भइरहेका बेला आम लगानीकर्तामा छुट्टै उत्साह छाएको छ। हाल सेयर किनबेच गर्दा ईडीआइएस (सेयर हस्तान्तरण) अनिवार्य छ। 

टीएमएसमा हाल बिक्रीकर्तासँग रहेको मात्रै सेयर बिक्री गर्न मिल्दछ। टीएमएस वा ब्रोकरमार्फत सेयर बिक्री गरेपछि ईडीआईएस गर्न लगानीकर्ताले भूल गर्दा वा स्वयं बिर्सेर क्लोजआउटको जरिवानाको भागिदार बन्नुपर्छ। 

प्राथमिक बजारको अभूतपूर्व उत्साहसँगै सोही भीड हिजोआज दोस्रो बजारमा समेत निकै बाक्लिदै गइरहेको देखिन्छ। विशेषगरी आमलगानीकर्ता तथा साना लगानीकर्तालाई फोकस गर्दै सेयर बिक्री गरेपछि मेरो सेयरबाट ईडीआइएस (सेयर हस्तान्तरण ) गर्न सहज होस् भन्ने उद्देश्यले बिजशालाले सहजीकरण गर्ने प्रयास गरेको छ।

टिप्स

विं.सं २०७२ माघदेखि दोस्रो बजारमा सेयर किनबेच गरेको रेकर्ड सीडीएससीसँग हुने भएकाले ईडीआईएसमा भारित औसत लागत निकाल्न सहजता छ तर त्यसअघि किनबेच भएका सेयर बिक्री गर्नुपरेमा डीआईएस नै बुझाउनुपर्छ। डीआईएसमा खरिदमूल्य आफैँ यकिन गरी भारित औसत लागत फर्म भर्नुपर्ने हुन्छ र यो नियम अक्सनमार्फत किनिएका सेयरमा पनि लागू हुन्छ।

लगानीकर्ताले हिजोआज डिम्याट खातासँगै मेरो सेयरको सब्सक्रिप्सन गरेका हुन्छन् र वार्षिक नवीकरण शुल्क पनि बुझाइरहेका हुन्छन् तर सेयर बिक्री गर्दा कुनै बेला ठ्याक्कै डिम्याट खाता र मेरो सेयरको नवीकरण नभएकाले ईडीआइएस गर्न सकिँदैन। यसकारण बेलैमा यसप्रति चनाखो भई वार्षिक नवीकरण शुल्क बेलैमा भुक्तानी गर्नुपर्छ।
हाल टीप्लस टुमा (दोस्रो कार्यदिन) धितोपत्र राफसाफ तथा फछ्र्यौट हुने भएकाले बिक्री गरेकै दिन वा भोलिपल्टभित्र ईडीआईएसमार्फत आफ्नो डिम्याट खाताको सेयर ब्रोकरको पुल अकाउन्टमा हस्तान्तरण गर्नुपर्छ। दुई कार्यदिनमा सेयर सेटलमेन्ट हुने भएकाले तेस्रो दिन अर्थात् राफसाफ हुने दिन ईडीआइएस गर्न मिल्दैन। 

सेयर बिक्री गरेकै दिन बेलुकी ७ बजेतिर मेरो सेयरबाट ईडीआईएस गर्न मिल्छ सोही दिन वा भोलिपल्टभित्र बेलैमा ईडीआईएस गरी क्लोजआउट पर्नबाट ढुक्क हुन सकिन्छ।

ईडीआईएस कसरी गर्ने ?

सीडीएससीको मेरो सेयर एप्स गुगलको प्लेस्टोरमा उपलब्ध छ वा सीडीएससीकै वेबसाइटबाट पनि लगइन र पासवर्ड राखी ईडीआईएस गर्न सकिन्छ।

मेरो सेयरमा लगइन गर्दा ३ वटा बक्स देखिन्छ। पहिलो बक्समा डीपी (डिम्याट खाता खोलेको ठाउँ (ब्रोकर वा बैंक), दोस्रोमा युजरनेम र तेस्रो बक्समा पासवर्ड राखी खोल्नुपर्छ। मेरो सेयर खुलेपछि बायाँपट्टि विभिन्न अप्सनहरु देखिनेछ जसमध्ये सुरुमा माई पर्चेच सोर्समा जानुहोस्। 

हाल भारित औसत लागत विधिद्वारा लाभकर गणना हुने भएकाले मेरो सेयरबाटै भारित औसत गणना गर्न सकिन्छ। माई पर्चेच सोर्समा स्क्रिप्ट लेखिएको बक्स देखापर्छ। सो बक्समा तपाइँले बिक्री गर्नुभएको कम्पनीको कोड टाइप गर्नुहोस्– जस्तै दिव्यश्वरी हाइड्रोको डीएचपीएल भनेजस्तै। 

उक्त बक्समा कम्पनीको कोड टाइप गरेपछि सर्च बटन क्लिक गर्नुहोस्। त्यहाँ विभिन्न विवरण देखिनेछ। जसमा तपाइँले बजारबाट खरिद गरिएको, बोनस वा हकप्रद प्राप्त गरेकोलगायत विवरण हुन्छन्। बोनस र हकप्रदबाट प्राप्त सेयरको लागत रु.१०० मात्रै हुन्छ भन्ने चाहिँ नबिर्सिनुस्। अनि बिक्री गरेका कम्पनीका छेउमा क्लिक बटन हुन्छ, त्यहाँ टिकमार्क लगाउनुस्। टिकमार्क लगाइसकेपछि तपाइँले गणना गर्नुभएको भारित औसत लागत लाभकर घोषणा गरेको विवरण देखिनेछ र मुनि अपडेट बटन क्लिक गर्नुहोस्। अपडेट गरिसकेपछि माई पर्चेस अपडेट डन भनेर हरियो बक्समा देखिन्छ। यसको मतलब तपाइँँले भारित औसत लागत अपडेट सफलतापूर्वक गर्नुभयो।

अब होमपेजमा आउनुस् र माई ईडीआइएसमा क्लिक गर्नुहोस्। त्यहाँ ट्रान्सफर सेयरमा क्लिक गर्नुहोला। त्यहाँ क्लिक गरेपछि भियू डिटेल्स अप्सन देखिन्छ अनि त्यसैमा क्लिक गर्नुहोस्। अनि सेयर बिक्रीका लागि ईडीआइएस गर्न टिकमार्कसहितको अप्सन देखिन्छ र सबैमा किटमार्क लगाउनुहोस्। त्यसपछि पोसिड गरेपश्चात भने पुनः भारित औसत लागतको गणना यकिन भएको भन्ने डायलग बक्स देखिनेछ। सो बक्समा पनि क्लिक गर्नुहोस्। क्लिक गरेपछि मुनि कन्फर्म भन्ने अप्सन देखिनेछ। त्यहाँ क्लिक गर्नुहोस्। अब सेयर हस्तान्तरण सफलतापूर्वक सम्पन्न भयो भन्ने हरियो डायलगबक्स देखिनेछ। यसरी तपाइँले विद्युतीय माध्यमद्वारा संसारका जुनसुकै स्थानबाट सहजै सेयर हस्तान्तरण गर्न सक्नुहुनेछ।

थप प्रस्ट हुन तल तस्बिरहरुमा क्रमैले हेर्नुहोला–