काठमाण्डौ । क्षत्रपाटी निःशुल्क चिकित्सालयका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। 

डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन कार्य समितिलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको हो। दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएसँगै डा. मनोजमान श्रेष्ठले क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई देशकै अत्याधुनिक र मोडुलर ओटीसहितको सुविधा सम्पन्न अस्पताल बनाउने घोषणा गरेका छन्। 

अस्पालको उपाध्यक्षमा कुमारदेव मानन्धर, महासचिवमा कृष्टिना श्रेष्ठ, सचिवमा जगदिश माली, कोषाध्यक्षमा लहना श्रेष्ठ, सह–कोषाध्यक्षमा कृष्ण प्रसाद मानन्धर र सदस्यहरुमा निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डिएलचन्द्र मानन्धर निर्विरोध निर्वाचित भएका छन्। 

नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। काठमाण्डौ महानगरपालिका वडा नं १७ का अध्यक्ष नवीन मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिद्वारा निर्विरोध घोषणा गरिएका पदाधिकारीलाई प्रमाणपत्र वितरण गरेको छ। 

२०१३ सालमा स्थापना भएयता क्षत्रपाटी निःशुल्क चिकित्सालयमा निर्विरोध कार्य समिति चयन भएको यो पहिलोपटक हो। 

प्रमाणपत्र वितरण कार्यक्रमपछि सम्बोधन गर्दै काठमाण्डौ महानगरपालिकाका प्रबक्ता तथा १७ नं वडा अध्यक्ष नवीन मानन्धरले क्षत्रपाटी निःशुल्क चिकित्सालय आगामी दिनमा राष्ट्रिय अस्पतालको रुपमा परिचय बनाउने बताउँदै अस्पतालले पुर्याउँदै आएको गुणस्तरीय स्वास्थ सेवाबाट शहरी क्षेत्रका जनताले राम्रो लाभ पाएको बताए। 

नवनिर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठले क्षत्रपाटी निःशुल्क चिकित्सालय अब नेपालकै अत्याधुनिक अस्पताल बन्ने अभियानमा रहेको बताए। अध्यक्ष डा. श्रेष्ठले नयाँ बन्दै गरेको माउबद्री भवनमा अत्याधुनिक मोडुलर अप्रेसन थ्रिएटरसहितको अस्पताल निर्माण भइरहेको बताए। हालको पुरानो भवनलाई गणेशमान सिंह भवनका रुपमा नयाँ भवन बनाएर क्षत्रपाटी अस्पताल देशकै गौरव योग्य बनाएरै छोड्ने प्रतिबद्धता जनाएका छन्। 

नवनिर्वाचित उपाध्यक्ष कुमारदेव मानन्धरले गरिब असहाय जनतालाई निःशुल्क उपचार गर्ने परिचय बनाएको अस्पतालले आगामी दिनमा सुविधा सम्पन्न स्वास्थ्य संस्थामा उपचार गर्न वडाबासी तथा अन्य नागरिकले पाउने बताए।