जुम्ला । ८ महिनाभन्दा लामो खडेरीका कारण कर्णालीमा एक अर्ब ४० करोड रुपैयाँको खाद्यबाली नष्ट भएको छ। खडेरीले सबैभन्दा ठूलो मारमा मुगु जिल्ला परेको छ।

२४ गाविसको मुगु जिल्लाका १२ गाविस निकै सङ्कटग्रस्त र १२ गाविस सङ्कटोन्मुख अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालय, मुगुका वरिष्ठ कृषि विकास अधिकृत डा चन्दप्रसाद रिसालले जानकारी दिए। बर्खे बालीमा ४०–६० र हिउँदे बालीमा ७५–८० प्रतिशत खाद्यान्न बालीमा ह्रास आएको उनले बताए।त्यसैगरी, विगत ४० वर्षकै लामो खडेरीका कारण ३० गाविसको कालीकोट जिल्लामा ३९ करोड बराबरको खाद्यबाली उत्पादनमा ह्रास आएको वरिष्ठ कृषि विकास अधिकृत सुनिल सिंहले जानकारी दिए।  

सिंहले हिउँदे र बर्खे खाद्यान्न बाली गरेर ३४ देखि ५० प्रतिशत बाली उत्पादनमा कमी आएको बताए। राष्ट्रिय जनगणना–२०६८ अनुसार यहाँका ८४ प्रतिशत जनतालाई अहिले पनि तीन महिना खान पुग्दैन, जसले गर्दा यहाँ निकै विकराल अवस्था छ। अहिले कामका लागि खाद्यान्न कार्यक्रम लागू हुनुपर्ने जिल्लावासीको माग छ।खडेरीले २७ गाविसको हुम्लामा ११ करोड १७ लाख ७१ हजार ५७० रुपैयाँ बराबरको खाद्य बालीमा क्षति पुगेको योजना अधिकृत केबी रोकायाले जानकारी दिए।  

योजना अधिकृत रोकायाका अनुसार त्यहाँको खाद्यबाली उत्पादनमा २४ देखि ८० प्रतिशत ह्रास आएको छ। खडेरीले गर्दा एक हजार ४९० मेट्रिक टन खाद्य बालीमा ह्रास आएको र नौ हजार ३५३ घरधुरी त्यसबाट प्रभावित भएको उनको भनाइ छ।यता २३ गाविसको डोल्पा जिल्ला पनि खडेरीबाट निकै प्रभावित भएको छ। डोल्पाको उत्तरी क्षेत्रमा पर्ने साल्दाङ, भिजेर, धो, तिञ्ज, छार्का र मुकोटलगायतका छ गाविस उच्चतम खाद्य असुरक्षित अवस्थामा रहेको डोल्पाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत भीमबहादुर धरालाले जानकारी दिए।  

अधिकृत धरालाले १७ वटा गाविस मध्यमस्तरीय खाद्य असुरक्षित अवस्थामा रहेको बताए। योजना अधिकृत भानुभक्त भट्टराईले खाद्यबालीको हिसाब गर्दा रु नौ करोड १९ लाख ६० हजार बराबर उत्पादनमा ह्रास आएको छ। तथापि जनताको लगानी श्रमलाई जोड्दा झन्डै रु २० करोड क्षति भएको उनको भनाइ छ।खडेरीबाट जुम्ला पनि अछुतो छैन।

यसवर्ष खडेरीबाट जुम्लाको खाद्यबालीमा ३०–४० प्रतिशत उत्पादनमा ह्रास आएको निमित्त वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले जानकारी दिए। जसका कारण यो जिल्लालाई २५ करोड बराबर क्षति भएको अधिकृत महतको भनाइ छ।योजना अधिकृत बालकराम देवकोटाका अनुसार बर्खेबाली धान, मकै, कोदो, चिनो, कागुनो, फापरको उत्पादनमा केही कमी देखिए पनि हिउँदेबाली जौ, गहुँ र उवाको उत्पादनमा अधिकतम ह्रास आएको छ।