काठमाण्डौ । भारतमा कोरोनाको लोकल भेरियन्ट निकै खतरनाक बन्दै गएको पछिल्लो तथ्यांकहरुले देखाएको छ। 

नेसनल सेन्टर फर डिजिज कन्ट्रोलका प्रमुख सुजित कुमारका अनुसार कोरोनाको दोस्रो लहरमा सुरुआती चरणमा भारतमा यूके भेरियन्ट देखिएको थियो। ‘तर अहिले थुप्रै राज्यमा कोरोनाको लोकल भेरियन्टको संक्रमण बढ्न थालेको छ’, कुमारले भने।

भारतमा हाल यूके, ब्राजिल र साउथ अफ्रिका भेरियन्ट देखिएको छ। केही दिनअघिमात्रै १३ हजार नमुना परीक्षण गर्दा तीमध्ये ३ हजार ५३२ मामिला यिनै भेरियन्टका थिए भने १ हजार ५२७ मामिला लोकल भेरियन्टका थिए। लोकल भेरियन्ट धेरैजसो महाराष्ट्र, कर्नाटक, पश्चिम बंगाल, दिल्ली, गुजरात, छत्तीसगढ, झारखण्ड र मध्य प्रदेशमा देखिएको छ। 

यसबीच भारतमा पछिल्लो २४ घन्टामा ४ लाख १२ हजार २६२ जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ९८० जनाको ज्यान गएको छ। 

भारतमा हालसम्म कोरोनाबाट २ करोड १० लाख ७७ हजार ४१० जना संक्रमित भइसकेका छन् भने मृतकको संख्या २ लाख ३० हजार १६८ पुगेको छ। 

हाल भारतमा ३५ लाख ६६ हजार ३९८ सक्रिय संक्रमित छन्। – एजेन्सी