पोखरा । खराब मौसमका कारण पोखराबाट हुने उडानहरु अवरुद्ध भएका छन्।

बिहान १०ः४५ बजेदेखि पोखरा विमानस्थलबाट उडानहरु हुन सकिरहेको छैन। जसका कारण पोखराबाट काठमाण्डौ, धनगढी र भैरहवामा हुने उडानहरु अवरुद्ध भएका छन्। गन्तव्यमा पुग्नका लागि पोखरा विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन्। 

मौसमको खराबीका कारण कम भिजिबिलिटीले गर्दा अहिलेसम्म उडानहरु सुचारु हुन नसकेको पोखरा विमानस्थल कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए। उनका अनुसार बिहान बुद्ध एयरलाइन्सको ३ वटा, गुण एयरलाइन्स र यती एयरलाइन्सको एउटा÷एउटा गरी ५ वटा उडान भएको थियो। 

अहिले बुद्ध एयरलाइन्सको २ वटा र यती एयरलाइन्सको २ वटा स्थगित गरिएको सुवेदीले बताए। ‘काठमाण्डौबाट आएको एउटा जहाज पनि अवतरण हुन नसकेपछि डाइभर्ट गरिएको छ’, उनले भने। 

मौसममा सुधार नआएर आजका बाँकी उडान–अवतरण स्थगित हुन सक्ने सुवेदीको भनाइ छ।