काठमाण्डौ । धराप अवस्थामा रहेको नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले अधिकांश सूचकमा आमूल सुधार गर्दै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । 

खराब कर्जाले थिलथिलो भएको यो बैंक व्यवस्थापनले डूबेको कर्जा असूलीमा ध्यान दिएसँगै व्यवसाय बिस्तारमा समेत मन लगाउँदा र पछिल्लो समय काम गर्ने क्रममा पहिलाजस्तो अनेकन बाधा व्यवधानको सामना गर्न नपर्दाको परिणाम पहिलो त्रैमासको वित्तीय विवरणमा देखिएको छ । 

समीक्षा अवधिमा यो बैंकको वितरणयोग्य नाफामा ७०.४१ प्रतिशतको प्रगति भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १६ करोड ४५ लाखमा सीमित वितरणयोग्य नाफा बढेर यो वर्ष २८ करोड माथि पुगेको हो । 

यस्तै, २५ करोड १४ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष ४६ करोड ९१ लाखको उचाईमा पुगेको छ ।

यस्तै, ३४ करोडमा सीमित संचालन नाफा समेत बढेर ६१ करोड ३० लाख माथि पुगेको छ । यसरी खूद नाफा र संचालन मुनाफामा क्रमशः ८६.५४ प्रतिशत र ८०.२० प्रतिशतको फड्को मारेको देखिएको छ ।

व्यवसाय बिस्तारमा आक्रामक बनेका कारण खूद ब्याज आम्दानीतर्फ बैंकले १३२.४६ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्ष यही अवधिमा ३४ करोड ७६ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ८० करोड ८० लाखको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा एनसीसी बैंकले ६२ अर्ब ८४ करोड निक्षेप संकलन गरी ५७ अर्ब ३० करोड बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा निक्षेपतर्फ १.७५ प्रतिशत र कर्जातर्फ १९.३८ प्रतिशतको प्रगति भएको देखिएको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३ अर्ब ५१ करोडमा सीमित रिजर्बकोषमा समीक्षा अवधिसम्म ४ अर्ब ९० करोड रुपैयाँ सञ्चित भएको छ ।

अघिल्लो वर्ष ३.८९ प्रतिशत रहेको खराब कर्जा अनुपात घटाएर ३.६९ प्रतिशतमा झार्न बैंक सफल देखिएको छ भने वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा १२३.३६ प्रतिशतको फड्को मार्ने सफलता समेत बैंकले पाएको छ । अघिल्लो वर्ष यही अवधिमा १७.९६ रुपैयाँ रहेको इपीएस बढेर यो वर्ष ४०.११ रुपैयाँ कायम भएको हो । 

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २०४.७४ रुपैयाँ कायम भएको छ ।