काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य प्रगति गरेको छ, तर बढेको पूँजीअनुसार नाफा कमाउन नसक्दा प्रतिसेयर आम्दानी(इपीएस)मा भने पहिरो व्यहोर्नुपरेको छ । 

यो बैंकले समीक्षा अवधिमा ४३ करोड ८८ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ३५ करोड ४१ लखमा सीमित थियो । 

बैंक व्यवस्थापनले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो आबको पहिलो त्रैमासमा ६९ करोड २८ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर समीक्षा अवधिमा ९० करोड २० लाखको उचाईमा पुुगेको छ । 

बैंकको कर्मचारी खर्च तथा अन्य संचालन खर्च निकै बढेको देखिन्छ । अघिल्लो आबको पहिलो त्रैमासमा १९ करोडमा सीमित कर्मचारी खर्च समीक्षा अवधिमा बढेर २५ करोड तथा १४ करोड ६६ करोडमा सीमित अन्य संचालन खर्च बढेर २० करोड ३३ लाख पुुगेको छ । 

एसबीआई बैंकले समीक्षा अवधिमा ८६ अर्ब ६२ करोड निक्षेप संकलन गरी ६७ अर्ब ५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६८ अर्ब ८९ करोड निक्षेप संकलन गरी ५२ अर्ब ३७ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले यो अवधिमा रिजर्ब कोषलाई निकै मजबुत बनाएको छ । अघिल्लो आबको पहिलो त्रैमाससम्म ३ अर्ब ४४ करोड रहेको कोषमा समीक्षा अवधिसम्म ४ अर्ब ३५ करोड रुपैयाँ जम्मा भएको छ । 

बैंकले यो अवधिमा निस्क्रिय कर्जा घटाउन सकेन, यहीकारण अघिल्लो वर्ष ०.१३ प्रतिशतमा रहेको यस्तो कर्जा समीक्षा अवधिमा पनि उही अवस्थामा छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २.४६प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ५.१९ प्रतिशत पुुगेको छ । 

समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २५.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.४० रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.९६ गुणा कायम भएको छ ।  

अघिल्लो वर्ष यही अवधिमा बैंकको इपीएस ३६.४७ पैसा रहेको थियो । बैंकले २८ प्रतिशत बोनस सेयर वितरणपछि कायम चुक्तापूँजी ४० प्रतिशत हकप्रद वितरण गरेको थियो । पूँजीवृद्धि अनुसार नाफामा उल्लेख्य प्रगति गर्न नसक्दा प्रतिसेयर आम्दानीमा पहिरो गएको देखिएको छ ।