काठमाण्डौ । खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमीट सेवा उपलब्ध हुने भएको छ। 

मेगा बैंक र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमीट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो। सम्झौताअनुसार अब सर्वसाधारणले मेगा रेमीटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन्। 

यसका साथै बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमीटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ। 

नेपालभित्र पनि खल्तीमार्फत रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोमा यो व्यवस्थाले मेगा बैंकको रेमिटेन्स सेवाको दायरालाई अझै फराकिलो बनाउँदै ग्राहकमा थप सहजता प्रदान गर्ने मेगा बैंकले जनाएको छ।