काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा रोक्का रहेको खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबार आज सोमबार फुकुवा भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को हिजो जेठ ३० गतेको निर्णयअनुसार यो कम्पनीको सेयर कारोबार फुकुवा गरिएको हो। योसँगै आजबाट यो कम्पनीको सेयर कारोबारमा आउने भएको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा भएको व्यवस्थाअनुसार वित्तीय विवरणहरु पेस नगरेको भन्दै नेप्सेले गत जेठ २० गतेबाट यो कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो। कम्पनीले गत जेठ २६ गते कम्पनीको लगइन बाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी कम्पनीका वित्तीय विवरणहरु अपलोड गरेको नेप्सेले जनाएको छ। 

आगामी दिनमा समयमै वित्तीय विवरण पेस गर्ने प्रतिबद्धतासहित रोक्का राखिएको सेयर कारोबार फुकुवा गरिदिन आग्रह गरेबमोजिम नेप्सेले यो कम्पनीको सेयर कारोबार फुकुवा गरिएको जनाएको छ।