-रमेश लम्साल/सिबी अधिकारी 
काठमाडौँ । सरकारले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि होटल व्यवसायमा खुकुलो मापदण्ड तय गरेपछि पछिल्लो दिनमा सो क्षेत्रमा लगानी गर्नेहरु बढ्दै गएका छन् । 

पर्यटन विभागका अनुसार पर्यटन क्षेत्रको महत्वपूर्ण पूर्वाधारका रुपमा रहेको होटल, रेष्टुराँ तथा रिसोर्टको संख्या बढेर एक हजार २०० पुगेका छन् । यस्तै १०० वटा नयाँ होटल थपिने क्रममा रहेको छ । हाल होटलको ‘बेड’ संख्या ४२ हजार रहेको छ । 

लगानीमा भएको बढोत्तरीले रोजगारीको अवसरमा वृद्धि भएको छ भने आर्थिक क्षेत्रको थप उन्नयनमा बल मिलेको छ । पछिल्ला दिनमा कञ्चनपुरको होटल ओपेरा, नेपालगञ्जको होटल कृष्णा र सिमराको होटल इच्छाले पर्यटन विभागबाट चारतारेको अनुमति लिएका छन् । 

यस्तै चारतारेको मान्यतासहित सञ्चालनमा आएका होटलमा नेपालगञ्जकै सोल्टी, नगरकोटको मिस्टिक माउण्टेन, कोहलपुरको सेन्ट्रल प्लाजासहितका होटल रहेका छन् । हालको गति र लगानी हेर्दा आगामी तीन वर्षभित्र काठमाडौँमा मात्रै चारतारे होटलमा चार हजार कोठा थप हुन लागेका छन् । 

राजनीतिक अस्थिरता, लगानीमैत्री वातावरण नभएको भन्दै पछिल्ला वर्षमा नयाँ होटल नथपिए पनि हाल थपिएका र निर्माणका क्रममा रहेका दर्जन चारतारे होटलले नेपालको पर्यटन प्रवद्र्धनमा गुणात्मक फड्को मार्ने विश्वास लिइएको छ । विभागका अनुसार सन् २०१७ मा तीनतारे होटल तीनवटा थप भएका छन् । थपिएका तीनतारे होटलमा ठमेलको ११५ कोठे म्यारिओट, ठमेलकै ६३ कोठे मलवरी र हेटौँडाको ६० कोठे सामना होटल रहेका छन् । 

हाल ३४ वटा तिनतारे होटल पुगेको विभागले जानकारी दिएको छ । पर्यटकस्तरका होटल २३ वटा थप भएका छन् । दुईतारे होटल ४३ छन् । सो व्यवसायमा संलग्नहरुका अनुसार हाल देशभर तारे, गैर तारे, रिसोर्ट र रेष्टुराँमा करिब १६ लाख पर्यटकलाई सेवा दिन सक्ने अवस्था सिर्जना भएको छ । 

सरकारले सञ्चालनमा रहेका होटल व्यवसायलाई अन्तर्राष्ट्रियस्तरको पूर्वाधारसहितको मागदण्डसमेत तय गरेको छ । काठमाडौँ उपत्यकाभित्र भन्दा पनि उपत्यका बाहिर होटल व्यवसाय सञ्चालन गर्नेलाई सहज रुपमा व्यवसाय गर्ने वातावरणसमेत निर्माण गरिएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देश राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेको भन्दै होटल व्यवसायमा लगानी गर्न चाहनेहरुसमेत बढ्दै गएका छन् । विभागले काठमाडौँ उपत्यकामा रहने होटलको हकमा कम्तीमा १०० र उपत्यका बाहिर रहने होटलको हकमा कम्तीमा ८० सुत्ने कोठा हुनुपर्ने व्यवस्था गरेको छ । 

उपत्यका, तराई मधेशमा होटलमा पौडी पोखरी आवश्यक भए पनि हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ पौडी पोखरीलाई अनिवार्य गरिएको छैन । विद्यमान तारे होटल, पर्यटकीय होटल, रेष्टुराँ तथा रिसोर्टको अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुरुप भौतिक पूर्वाधारसहित क्षमता विस्तार गर्ने नीति अख्तियार गरिएको र राजपत्रमा सूचना प्रकाशित गरेर लागू गरेपछि होटल क्षेत्रमा लगानी गर्नेको संख्यामा समेत वृद्धि भएको विभागका महानिर्देशक दिनेश भट्टराईको भनाइ छ । 

भट्टराईका अनुसार काठमाडौँ उपत्यकाभित्र एक तारे होटलमा २० र काठमाडौँ बाहिर १५ कोठा हुनुपर्ने नयाँ मापदण्ड लागू गरिएको छ । यस्तै दुई तारेको हकमा काठमाडौँमा ४० र बाहिर ३०, तीन तारेका हकमा काठमाडौँमा ६० र बाहिर ४५, चार तारेका लागि काठमाडौँमा ८० र बाहिर ६०, पाँचतारेका लागि काठमाडौँमा १०० र बाहिर ८० कोठा हुनुपर्ने मापदण्ड तय गरिएको छ । 

होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि २०७० सालमा तय भएको मापदण्डलाई समसामयिक परिवर्तन गरी अन्तर्राष्ट्रिय होटल स्तर मापदण्डअनुसार तय गरिएको महानिर्देशक भट्टराई बताउनुहुन्छ । सो मापदण्डअनुरुप होटलका कोठालाई बढी केन्द्रित गरिएको छ । आरामदायी सुविधा बढाइएको छ । होटलका कोठाको संख्यालाई संख्यात्मकभन्दा पनि गुणात्मक रुपमा व्यवस्थित गर्ने प्रयास गरिएको छ । 

होटल एशोसिएसन अफ नेपाल (हान) का महासचिव विनायक शाह होटल व्यवसायमा लगानी गर्ने वातावरण बन्दै गएकामा खुशी व्यक्त गर्नुभयो । “सरकारले पछिल्लो पटक लागू गरेको मापदण्डले व्यवसायको प्रवद्र्धनमा बल पुगेको छ । सेवा क्षेत्रमा लगानी गर्नेको मनोबलसमेत वृद्धि भएको छ”, उहाँले शाहले भन्नुभयो । 

काठमाडौँ उपत्यका बाहिर व्यवसाय शुरु गर्नेलाई विशेष प्राथमिकता दिने सरकारको नीतिले पर्यटन क्षेत्रमा नयाँ उभार आउने उहाँको भनाइ छ । 

अर्का होटल व्यवसायी राजेन्द्र बजगाईंले उपत्यका बाहिरका होटललाई पर्यटकमैत्री बनाउन खोजिएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले जस्तोसुकै होटललाई पनि तारे होटलको मान्यता दिँदा त्यसले पार्ने प्रभाव नकारात्मक हुनेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सञ्चालमा रहेका होटल, रेष्टुराँ र रिसोर्टलाई थप व्यवस्थित, मर्यादित बनाउनेतर्फ लाग्नुपर्ने व्यवसायी बजगार्इंको भनाइ छ । 

सरकारले तय गरेको मापदण्डअनुसार पर्यटकस्तरको साधारण होटलले कम्तीमा पनि सबैमा पर्याप्त प्राकृतिक प्रकाश आउन सक्ने र हावा चल्ने हुनुपर्ने, २५ प्रतिशत कोठाको साथमा स्नानघर तथा शौचालय (बाथरुम) संलग्न हुनुपर्ने छ । 

यस्तै सबै कोठामा आधुनिक फर्निचर र बिजुलीको राम्रो प्रबन्ध हुनुपर्ने तथा नेपाली कला र संस्कृति झल्काउने किसिमले सजाइएको हुनुपर्ने छ । होटल व्यवसाय विश्वव्यापी उद्योग भएकाले समयानुकूल मापदण्ड बनाइएको र पर्यटकको रोजाइ तथा आवश्यकतालाई ध्यान दिइएको व्यवसायीको भनाइ छ । 

तारे तथा पर्यटकीय होटलले आफ्ना सेवा सुविधालाई गुणस्तरीय बनाई बढी पर्यटक आकर्षण गर्न नयाँ मापदण्ड लागू गरेर लगानीमैत्री वातावरण बनाइएको विभागका महानिर्देशक भट्टराईको भनाइ छ । 

सन् २०१७ मा नौ लाख ६४ हजार पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सन् २०१६ मा सात लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा पर्यटक आवागमनको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । 

होटल व्यवसायी योगेन्द्र शाक्य पर्यटकको संख्यामा भएको वृद्धिसँगै पूर्वाधारको क्षेत्रमा थप लगानी हुनु सकारात्मक रहेको बताउनुहुन्छ । उहाँले होटलमा लगानी गर्ने लहर बढेसँगै व्यवस्थापन तथा प्रचारप्रसारको कामलाई समेत जोड दिनुपर्ने र गुणस्तरीय सेवाका लागिसमेत पहल गर्नुपर्नेमा जोड दिनुभयो । 

“लगानी बढाएरमात्रै भएन, पर्यटकलाई सेवा सुविधा दिनेतर्फ पनि ध्यान दिइनुपर्छ । व्यवसायको दायरा बढाएर जानुपर्छ”, उहाँले भन्नुभयो ।