काठमाण्डौ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा लक्ष्मी बैंकले खूद नाफातर्फ राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा यो वर्ष सोही अवधिमा खूद नाफा ३९ प्रतिशतले वृद्धि गरेको हो । 

अघिल्लो वर्ष ३२ करोड ५८ लाख रुपैयाँ रहेको खूद नाफा बढेर ४५ करोड ३१ लाखको उचाईमा पुुगेको हो । 

बैंकले शुक्रबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्ष ६४ करोड २५ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ९० करोड ५९ लाखको उचाईमा पुुगेको छ । बैंकले दोश्रो त्रैमाससम्म ५५ अर्ब ६१ करोड निक्षेप संकलन गरी ४७ अर्ब ४७ करोड कर्जा परिचालन गरेको छ। 

यो अवधिमा बैंकको निस्क्रिय कर्जा अनुपात १.३१ प्रतिशत रहेको छ । यो अवधिमा बैंकको बार्षिकीकृत प्रति सेयर आम्दानी २६ रुपैयाँ ७४ पैसा, प्रतिसेयर नेटवर्थ २१९.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.५३ गुणा कायम भएको छ ।

लक्ष्मी बैंकले हालै प्रोफेसनल दियालो विकास बैंकलाई गाभेको थियो । लक्ष्मी बैंकले एक्वीजिसनपछि १ सय प्रतिशत हकप्रदको घोषणा गरेको थियो भने आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ३८ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको थियो । हकप्रद र बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी ७ अर्ब ४७ करोडको उचाईमा पुुग्नेछ ।