काठमाण्डौ । कोरोना भाइरसका कारण कालो बादलले ढाकेको विश्वको इनर्जी उद्योगलाई एकाएक उत्साहित तुल्याउने गरी फाइजर कम्पनीले खोप तयार गरेको खबर ल्याएपछि कच्चा तेलको मूल्य रकेटको गतिमा बढेको छ । 

फाइजर कम्पनीले सोमबार मात्रै आफूले विकास गरिरहेको खोप ९० प्रतिशत प्रभावकारी प्रमाणित भएको र यो मानवतामै ऐतिहासिक दिन भएको घोषणा गरेको थियो । यो घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा एकैदिन ११ प्रतिशतले बढ्दै प्रति ब्यारेल ४१.२२ डलरको उचाईमा फर्किएको हो । 

सिएनएनका अनुसार मे महिनाको सुरुवातदेखि निरश दिन भोगिरहेको तेल उद्योगका लागि त्यसपछिकै राहातको अनुभूति सोमबारको बढोत्तरीले भएको हो । 

कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिँदा तेलको अधिकतम प्रयोग हुने ग्यासोलिन र उड्डयन क्षेत्र तहसनहस भएको थियो, जसले यी क्षेत्रमा तेलको माग ह्वात्तै घटी कच्चा तेलको कारोबार गर्नेहरु टाट पल्टिने अवस्थामा पुगेका थिए । 

ग्लोबल इकोनोमीका लागि रक्तसंचारको काम गर्ने तेलको डिमाण्ड पछिल्लो समय अझ कम हुने आँकलन गरिएको थियो, किनभने दोश्रो वा तेश्रो लहरको कोरोना संक्रमण यूरोप तथा केही अमेरिकी देशमा पुनः सुरु भएको थियो । कतिपय युरोपियन देशले त दोश्रो चरणको लकडाउन तथा निषेधाज्ञा नै सुरु गरिसकेका छन् । यसले समेत आर्थिक गतिविधि ठप्प भई समग्र तेलको खपतमै गम्भीर धक्का लागेको थियो । 

क्लिपर डेटा नामक कम्पनीका निर्देशक म्याट स्मीथले कोरोनाविरुद्धको खोप तयार भएको खबरले तेलको मूल्य पागलको गतिमा बढेको उल्लेख गर्दै भनेका छन्-'अब मानिसहरुमा विश्व अर्थतन्त्रले गति लिने निकै ठूलो आशा पलाएको छ ।' 

सोमबार ब्रेन्ट क्रूडको मूल्य पनि ९ प्रतिशतले बढेर प्रति ब्यारेल ४२.८० डलर पुगेको समाचारमा उल्लेख छ । 

फाइजर कम्पनीका सीइओले अल्बर्ट बउर्लाले २०२१ को अन्तसम्ममा कम्पनीले खोपका १ अर्ब बढी डोजहरु उत्पादन गरिसक्ने बताएका छन् । 

कोभिड १९ परास्त गर्न खोप ९० प्रतिशत प्रभावकारी देखिएको उनले बताएका छन् । मौसमी फ्लूविरुद्ध दिइने खोपको प्रभावकारिता ४० देखि ६० प्रतिशत मात्र हुने गर्दछ । 

उनले आफ्नो सम्बोधनमा भनेका छन्-'विज्ञानका लागि यो निकै महत्वपूर्ण दिन हो । यो मानवताकै लागि ऐतिहासिक दिन हो, जुन दिन हामीलाई अनुभूत भयो कि तपाईको खोप ९० प्रतिशत प्रभावकारी प्रमाणित भयो । यो निकै उत्साहजनक छ ।' 

तेल उद्योगका लागि कोरोनाविरुद्धको खोप निकै सकारात्मक खबर हो । लकडाउनका लागि केही महिनाअघि तेलको मूल्यमा लगातार पहिरो गइरहेको थियो । यतिसम्म कि यूएस क्रूड(अमेरिकाको कच्चा तेल)को मूल्य त इतिहासमै पहिलोपटक नेगेटिभ कायम भएको थियो ।