काठमाण्डौ । विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले अमेरिकी बजारमा ४ लाख ७५ हजार कार फिर्ता मगाउने भएको छ। 

कम्पनीले २०१७–२०२० मोडल ३ टेस्लाको ३ लाख ५६ हजार ३०९ कार बजारबाट फिर्ता मगाउने भएको हो। किनकि ती कारको रियर–भ्यू क्यामरामा गडबडीको आशंका गरिएको छ। 

यसैगरी फ्रन्ट ट्रंक अर्थात कारको अगाडिको हिस्सामा खराबीको आशंकामा मोडल एसको १ लाख १९ हजार ९ कार पनि अमेरिकी बजारबाट फिर्ता ल्याउने निर्णय टेस्लाले गरेको छ। 

रोयटर्सका अनुसार टेस्लाले अहिले जति कार फिर्ता मगाउन लागेको छ, त्यो आँकडा पछिल्लो वर्ष बेचिएको ५ लाख कारबराबर हुन आउँछ। 

यही महिना दिइएको सुरक्षा रिपोर्टको अनुमानमा फिर्ता मगाइएका मोडल ३ मा लगभग एक प्रतिशतमा रियर–भ्यू क्यामेरामा गडबडी हुन सक्छ। 

अमेरिकामा गत डिसेम्बर २१ मा नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनलाई बुझाइएको रिपोर्टअनुसार बारम्बार ट्रंक लिड खोल्नु रियर–भ्यू क्यामेरालाई प्रतिक्रिया दिने तारलाई खराब गर्न सक्छ। यसले क्यामेरामा प्रतिक्रियाहरु नआउने हुँदा दुर्घटनाको खतरा बढी हुन्छ। 

मोडल एसमा ती गाडीहरु समावेश छन् जुन २०१४ देखि २०२१ बीच बनेका छन्। – एजेन्सी