काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) गत आर्थिक वर्षको बोनस सेयरका लागि दुई लघुवित्तको सेयरमूल्य आज शुक्रबार समायोजन गरेको छ। 

नेप्सेले गणपति लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयरमूल्य समायोजन गरेको हो। समायोजनपछि गणपतिको सेयरमूल्य प्रतिकित्ता १ हजार ५४२ रुपैयाँ र नेसनलको २ हजार ७४८ रुपैयाँ कायम भएको छ। यसअघि यी दुवै लघुवित्तको सेयरमूल्य प्रतिकित्ता क्रमशः १ हजार ७७३ रुपैयाँ र ३ हजार ३२५ रुपैयाँ रहेको छ। 

अब आइतबार समायोजित मूल्यअनुसार नै यी दुवै लघुवित्तको सेयर कारोबारमा आउनेछन्। गत आर्थिक वर्षको मुनाफाबाट नेसनलले २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने गणपतिले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। अनुमोदन गर्न नेसनलले आउँदो चैत ५ गते र गणपतिले यही फागुन २८ गते वार्षिक साधारणसभा डाकेका छन्। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि नेसनल र गणपतिले आज फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो फागुन १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यी लघुवित्तको प्रस्तावित लाभांश पाउन र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।