काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ। 

संस्थाको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो फागुन २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा तनहुँको शुक्लागण्डकीस्थित दुलेगौँडामा रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

सोही सभाले अन्य उपयुक्त एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभा र लाभांश प्रयोजनका लागि संस्थाले आउँदो फागुन १४ गतदेखि फागुन २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १३ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।