काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको लाभांश अनुमोदन गर्दै गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको हो। 

तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडास्थित ह्वाइट हाउस पार्टी प्यालेसमा आयोजित सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी विशेष प्रस्तावमा राखिएको १५ प्रतिशत बोनस सेयर सर्वसहमतिबाट पारित भएको हो। सभामा वार्षिक, आर्थिकलगायत महत्वपूर्ण प्रतिवेदनहरु पारित भएका छन्।

सभामा सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीले आफ्नो प्रतिवेदन प्रस्तुत गरेपछि सञ्चालक दिनेशलाल श्रेष्ठले संस्था स्थापनाको पृष्ठभूमिसहितको मन्तव्य राखेका थिए। उनले संस्थाको सञ्चालक समितिमा रहेर पुर्याएका योगदानको उच्च मूल्या.कन गर्दै अध्यक्ष भण्डारीलाई कदरपत्रसहित सम्मानित पनि गरे।

संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अच्युतराज सापकोटाले सभाको औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए। 

वि.सं. २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको यस संस्थाले हाल १८ वटा जिल्लामा ३६ वटा शाखा कार्यालयहरु मार्फत ग्रामीण क्षेत्रका २६ हजार ३४६ सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । यो अवधिसम्म जम्मा ३९ करोड ३० लाख बचत संकलन गरेको र १ अर्ब ५६ करोड कर्जा लगानी गरेको छ । यस वर्षको अन्त्यसम्म ४ वटा थप शाखा सञ्चालनमा ल्याउने लक्ष्य संस्थाले राखेको छ।