काठमाण्डौ। गण्डकी विकास बैंकलाई प्राप्ति गरेको मेगा बैंक नेपाल लिमिटेडले यही असार २१ गते आइतबारबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ।

बैंकले आज मंगलबार एक सूचना प्रकाशित गरी असार २१ गतेदेखि सम्पूर्ण ग्राहक, सेयरधनी, नियमनकारी निकाय तथा अन्य सम्बन्धित सबैलाई एकीकृत वित्तीय कारोबार सञ्चालनबारे जानकारी गराएको हो। गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुले असार २१ गतेबाट मेगा बैंकको प्रादेशिक/शाखा कार्यालयका रुपमा कारोबार सञ्चालन गर्ने सूचनामा उल्लेख छ। 

यसैगरी दुवै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्नका लागि असार १९ गते शुक्रबार दुवै बैंकका सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार र असार २० गते शनिबार सार्वजनिक बिदाका दिन सञ्चालन हुने सम्पूर्ण काउन्टर तथा अन्य बैंकिङ सेवा बन्द रहने बताइएको छ। 

ग्राहकको सुविधाका लागि साबिक गण्डकी विकास बैंकबाट जारी भएका चेक तथा एटीएम कार्यलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गर्ने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ। 

दुवै बैंकको गत जेठ २१ गते सम्पन्न विशेष साधारणसभाबाट यो प्राप्ति प्रक्रियालाई पारित गरेको थियो। नेपाल राष्ट्र बैंकबाट गत असार १० गते प्राप्त अन्तिम स्वीकृति र कम्पनी रजिस्ट्रारको कार्यालयबाट गत असार १४ गते गण्डकी विकास बैंकको प्राप्ति हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण चल अलच सम्पत्ति तथा दायित्वहरु प्राप्ति गर्ने  मेगा बैंकले सकार्ने स्वीकृति प्राप्त भएको थियो।