काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीसँग वाणिज्य बैंकका अध्यक्षहरुले प्रमोटर सेयरधनीमाथि विभेद भएको गुनासो गरेका छन् । 

उनीहरुले पब्लिक सेयर धारण गरेको व्यक्तिको तुलनामा प्रमोटर सेयरमाथि राष्ट्रबैंकले नीतिगत रुपमै विभेद गरेको गुनासो गर्दै सहज वातावरण बनाइदिन आग्रह गरेका हुन् । 

गभर्नर भएपछि बैंकका अध्यक्षहरुसँग भर्चुअल माध्यमबाट अधिकारीले आज अन्तरक्रिया गरेका थिए । 

सो क्रममा सहभागी बैंकका अध्यक्षहरुले पब्लिक सेयर र प्रमोटर सेयरमा फरक खालको नीति र व्यवहार भएको भन्दै चित्त दुखाएका थिए । ‘लगानी गर्ने, बैंकलाई अप्ठ्यारो पर्दा थाम्ने चाहिँ प्रमोटर सेयरहोल्डर, तर सुविधा पाइएन ।’ आफ्ना कुरा राख्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले भने–‘बैंकमा कुल सेयर स्वामित्वको १ प्रतिशतभन्दा कम लगानी गरेका पब्लिक सेयरहोल्डरले सोही बैंकबाट लोन लिन पाउँछन्, तर प्रमोटरलाई भने त्यसमा बन्देज गरिएको छ । प्रमोटरलाई त सेयर बेच्न पनि सीमा लगाइएको छ । प्रमोटर सेयरको मूल्याङ्कन पनि पब्लिक सरह नहुने अवस्था, यो विभेदकारी भयो ।’

शाहले प्रमोटर सेयरलाई १० वर्ष पुगेपछि पब्लिकमा कन्भर्ट गर्ने नीति बने पनि त्यसको कार्यान्वयनको सुरुवात नभएकोमा दुःख व्यक्त गरेका थिए । उनले प्रमोटर सेयरधनीहरुलाई पनि न्याय हुने गरी व्यवस्था गरिदिने विषयमा सोचिदिन गभर्नरलाई अनुरोध गरेका थिए ।