काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले माघ १ गतेदेखि अनलाइन कार्यक्रम आयोजना गरी बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकका लागि कर्पोरेटपे प्रणालीको सुरुआत गरेको छ। यस प्रणालीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हु्न्। 

यो प्रणाली बैंक तथा वित्तीय संस्थाहरुका व्यावसायिक ग्राहकका लागि सहज रुपमा डिजिटल भुक्तानी गर्नका लागि प्रदान गरिएको भुक्तानी प्ल्याटफर्म हो। यस प्रणालीको सुरुवातसँगै अब व्यावसायिक संस्थाहरूले नगद वा चेकको सट्टामा वैकल्पिक च्यानल प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन्। यी भुक्तानीहरु कनेक्ट आईपीएसमार्फत रियल टाइम तथा एनसीएचएल–आईपीएसमार्फत ननरियल टाइममा हुनेछन्।

यस प्रणालीमार्फत अन्तरबैंक र  सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, सामाजिक सुरक्षा कोषको योगदान भुक्तानी, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोषको भुक्तानी र अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी सजिलै गर्न सकिन्छ। कर्पोरेटपे सेवा लिनका लागि व्यावसायिक ग्राहकले आफ्नो बैंकमा सम्पर्क गरी एकपटक स्वीकृति प्राप्त गर्नुपर्ने हुन्छ।यसपश्चात भने ग्राहकका प्रयोगकर्ता आफैँले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् भने सो सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँचपश्चात प्रोसेस हुने व्यवस्था रहेको छ। साथै ग्राहकले आवश्यकताअनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिंक गरी मल्टी लेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्थासहित कारोबार गर्न सकिने प्रावधान रहेको छ। 

नेपाल राष्ट्र बैंकको हालको नेतृत्वले डिजिटल भुक्तानीको क्षेत्रलाई उकास्न र यसको पहुँच र उपयोगिता बढाउन विशेष पहल कदमी भूमिका खेल्दै आएको छ। 

कार्यक्रममा गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले लिएको समग्रमा डिजिटल भुक्तानीको इकोसिस्टम विकास गरी नगदबाट इलेक्ट्रोनिक चेक हुँदै नगदरहित डिजिटल प्रणाली कार्यान्वयन गर्न  एनसीएचएलले अग्रणी भूमिकानिर्वाह गर्दै आएको बताए। नगदको प्रयोग कम गरी डिजिटल अर्थतन्त्रतिर जोड दिने नेपाल राष्ट्र बैंकको नीतिलाई आजको यस प्रणालीको सुरुवातले थप टेवा पुर्याउने उनको विश्वास छ। ‘यस प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाका कर्पोरेट ग्राहकको कारोबार पनि डिजिटलमा लगी नगद र चेकको प्रयोग उल्लेख्य घटाउन मद्दत पुग्ने छ’, उनले  भने।  

यो प्रणालीमा हाल २० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुले आबद्ध भइसकेका छन्।