काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १६ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ ।

चौथो त्रैमासको वित्तीय विवरणअनुसार बैंकले ४५ करोड ३१ लाख रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो ।

अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा २६.३२ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा बैंकले ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा ४६ करोड ८८ लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार आक्रामक रहेको देखाउँछ ।

अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा २० करोड ६९ लाख रुपैयाँले बढेर ८५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ६४ करोड ९७ लाख रुपैयाँ थियो ।

त्यस्तै अघिल्लो वर्ष ३९ करोड १२ लाख रुपैयाँ रिजर्बको आकारलाई २५.२८ प्रतिशतले बढाएर बैंकले ४९ करोड २ लाख रुपैयाँ पुर्याएको छ ।

बैंकले रिटेन अर्निङतर्फ ४१.६७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष ३५ करोड १८ लाख रुपैयाँ रिटेन अर्निङ रहेको बैंकको समीक्षा अवधिमा ४९ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ३३ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५९ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले २१ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ८५ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो।

बैंकको प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.२० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ०.२७ प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा ०.०७ प्रतिशतले घटेको देखाएको छ ।

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १४.४० प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ८.६९ प्रतिशत र सीडी रेसियो ७७.९१ प्रतिशत रहेको छ ।

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई ११.०९ प्रतिशतमा सीमित गर्न सफल भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३५.४६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०.५५ गुणा कायम भएको छ ।