काठमाण्डौ । राष्ट्रियस्तरको गरिमा विकास बैंकले समग्र बैंकिङ प्रणालीमा बढ्दो इन्टरनेट फ्रड/फिसिङबारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक सञ्जालबाट एक महिना लामो ‘रहनुहोस् होसियार  !’ नामक अभियान चलाइरहेको छ। 

यस अभियानअन्तर्गत हरेक दिन बैंकले इन्टरनेट फ्रड/फिसिङसँग सम्बन्धित विभिन्न चेतनामूलक साम्रगी आफ्ना सबै सामाजिक सञ्जालबाट प्रकाशित गर्दै आइरहेको छ। चिट्ठा परेको छ भन्दै बैंकिङ विवरण मागेर मोबाइल बैंकिङमार्फत हुने ठगीे र अरुलाई आफ्नो बैंकिङ विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोस्ट, अडियो र भिडियोमार्फत बैंकले चेतनामूलक सूचना फैलाइरहेको छ। 

यस अभियानअन्तर्गत गरिमा विकास बैंकको आईटी विभागले आफ्ना सम्पूर्ण कर्मचारीलाई नियमित रुपमा प्रशिक्षणसमेत गरिरहेको छ। 

हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालय एवं ५१ एटीएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिँदै आइरहेको छ।