काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म बैंकले ४३ करोड ६१ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा २५.२४ प्रतिशतले बढाउन सफल भएको हो। 

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ६१ लाख रुपैयाँ रहेको छ।

बैंकको सञ्चालन मुनाफा पनि २५.१९ प्रतिशतले बढेर ७० करोड ३९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा ५६ करोड २२ लाख रुपैयाँ सीमित थियो।

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी पनि बढेर १ अर्ब १७ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ८४ करोड २६ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा अवधिमा बैंकले रिजर्भको आकार ७.६२ प्रतिशत बढाएर १ अर्ब १२ करोड रुपैयाँको उचाइमा पुर्याउन सफल भएको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।

बैंकले यो अवधिसम्म ६५ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ६३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ६१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

समीक्षा अवधिमा खराब कर्जा दर (एनपीएल) थोरै बढेर ०.९६ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा एनपीएल ०.९४ प्रतिशत रहेको थियो। सीडी रेसियो ८७.४७ प्रतिशत रहेको बैंकको आधार दर ९.७६ प्रतिशत रहेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २४.९७ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस २४.३१ रुपैयाँ रहेको थियो।

पीई रेसियो २४.१३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५४.१४ रुपैयाँ रहेको छ।