काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्सेले सुखद् ओपनिङ गरेको छ।

धितोपत्र कारोबार मापक नेप्से परिसूचक आज २८.४६ अंकको वृद्धि भई २३१५ विन्दु कायम भएको छ। आज परिसूचकले हालसम्मकै सर्वाधिक उचाइसमेत कायम गरेको हो।

हालसम्मकै सर्वाधिक इन्ट्राडे हाई पनि आज नेप्से २३१८ विन्दुमाथि पुगेको थियो। नेपाल टेलिकम र एचआईडीसीएलको सेयरमूल्यमा उछाल आएसँगै सूचक पनि ह्वात्तै बढेको जानकारहरु बताउँछन्।

सूचकमा  दोहोरो अंकको वृद्धि भएसँगै कारोबार रकम पनि करिब साढे ६ अर्ब रुपैयाँ सम्पन्न भयो। सूचकको वृद्धिमा कारोबार रकमले समेत साथ दिएको खण्डमा नेप्से अझै नयाँ उचाइतर्फ लम्किने विश्लेषकहरु जिकिर गर्छन्।

बजार वृद्धिका लागि हाल ब्याजदर नै प्रमुख कडीका रुपमा लिइएको छ। बचत र मुद्दतिमा ब्याज कटौती गरेसँगै कर्जाको लागत पनि कम हुने भएकाले पछिल्लो समय ब्याजदरले नै लगानीकर्ताको मनोबल बलियो बनाउँदै लगेको र बजार बढेको विश्लेषकहरु बताउँछन्।

आज नेप्से उपसमूहमा रहेका १२ वटामध्ये ११ वटा समूहमा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ।

यो दिन व्यापार समूह सर्वाधिक २३२.९७ अंकले उकालो लागेको छ। जीवन बीमा समूह २२१.०१ अंकले बढेको आज बैंकिङ समूहमा १.०१ अंक, होटेल्स् समूहमा १६.८७ अंक, विकास बैंक समूहमा ११०.०१ अंक, वित्त समूहमा २५.०१ अंक, निर्जीवन बीमा समूहमा ७८.०५ अंक, उत्पादन तथा प्रशोसन समूहमा ४९.८२ अंक, अन्य समूहमा ६०.७६ अंक, लघुवित्त समूहमा ११५.५५ अंक र म्युचुल फन्ड समूहमा ०.०८ अंकको बढोत्तरी भएको छ।

आज जलविद्युत् समूह ७.२ अंकले ओरालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु 

यो दिन नेप्सेमा सूचीकृतमध्ये २०८ कम्पनीका १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ रुपैयाँमा कारोबार भएको छ।

आज नेपाल टेलिकमको सर्वाधिक ५८ करोड १० लाख रुपैयाँ बढीको कारोबार भएको छ। एआईसी एसिया बैंकको २२ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको यो दिन सिभिल बैंकको २० करोड ९९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १८ करोड ६९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सको १७ करोड १० लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको १५ करोड ८४ लाख रुपैयाँ, प्रभु बैंकको १५ करोड ६५ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १४ करोड ९० लाख रुपैयाँ, एभरेस्ट बैंकको १२ करोड ४२ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १२ करोड २४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज १४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। साल्ट ट्रेडिङको सेयरमूल्यमा १० प्रतिशत तथा गुराँस लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, किसान लघुवित्त, महिला सहसात्रा लघुवित्त, आरम्भ चौतारी लघुवित्त, मञ्जुश्री फाइनान्स, गरिमा विमास बैंक, कामना सेवा विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज सांग्रिला डेभलपमेन्ट बैंक र बरुण हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यो दिन युनाइटेड फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।