काठमाण्डौ । भारत सरकारले गहुँ निर्यातमा लगाएको प्रतिबन्धको जर्मन सरकारले आलोचना गरेको छ। 

जर्मनीका कृषिमन्त्री केम ओजडेमिरले भारतको यो कदमले विश्वमा खाद्य संकट निम्तने भन्दै आलोचना गरेका हुन्। केमले भारतलाई जी–२० सदस्य देशका रुपमा आफ्नो जिम्मेवारी पूरा गर्नसमेत सुझाव दिएका छन्। 

विश्वभरमा गहुँको मूल्यमा तीव्र वृद्धि भइरहेका बेला भारतले गहुँको निर्यातमा लगाएको प्रतिबन्ध लगाएको हो। रुस–युक्रेन युद्धका कारण विश्वभर गहुँको आपूर्तिमा कमी आएको छ। 

रुस र युक्रेन विश्वका दुई ठूला गहुँ निर्यातकर्ता देश हुन्। रुस र युक्रेनबाट हुने गहुँ आपूर्तिमा कमी आएपछि भारतमा गहुँको माग वृद्धि भएको छ। 

जर्मनीका कृषिमन्त्रीले भारतले गहुँ निर्यातमा लगाएको प्रतिबन्धको विषय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका दौरान आगामी महिना जर्मनीमा हुने जी–७ शिखर सम्मेलनमा उठाइने बताएका छन्। उनले भने, ‘यो प्रतिबन्धका कारण गहुँको तत्काल आवश्यकता भएका नेपाल र बंगलादेशजस्ता देशहरु प्रभावित हुनेछन्। भारतको यो निर्णयमाथि जी–७ बैठकमा ठोस निर्णय लिइनेछ र यसमा भारतलाई समेत आमन्त्रित गरिनेछ।’

उता भारतले खाद्य सुरक्षा आवश्यकता पूरा गर्न गहँुको आपूर्तिका लागि आग्रह गर्ने देशहरुलाई भने निर्यातको अनुमति दिइने जनाएको छ। बढ्दो इन्धनको मूल्य र पारवाहन लागतका कारण भारतमा गहुँको मूल्य रेकर्डतोड विन्दुमा पुगेको छ। 

भारतले गत आर्थिक वर्ष ७० लाख टन गहुँ निर्यात गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५० गुणा धेरै हो। –एजेन्सी