– अनन्त्य सुन्दर

काठमाण्डौ । विगत ५ महिनाभन्दा बढी समयदेखि निजी प्रयोजनमा प्रयोग हुने गाडीहरुको आयातमा लगाइएको प्रतिबन्ध अब पनि नहटाए शोरुम नै बन्द गरेर बस्नुबाहेक अन्य विकल्प नहुने अटोमोबाइल्स व्यवसायीहरु बताउँछन्।

सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाख १४ गतेदेखि असार मसान्तसम्मका लागि निजी प्रयोजनमा प्रयोग हुने गाडीहरुको आयातमा प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्ध लम्बाएर आउँदो असोज २८ गतेसम्म पुर्याइएको छ। त्यसैले सरकारले गाडीको आयातमा लगाएको प्रतिबन्ध असोज २८ गते नै खोल्नेमा व्यवसायीहरुमा अन्यौलता कायम नै छ।

देशलाई भन्सार विन्दुमा उठ्ने परल मूल्यभन्दा दोब्बर राजश्व बुझाउँदै देशको कुल कर राजश्वमा झन्डै २५ प्रतिशत योगदान पुर्याउने नेपालको अटोमोबाइल्स क्षेत्र रहेको नाडाको भनाइ छ। खर्बौंको लगानी तथा लाखौंलाई रोजगारी प्रदान गरेको अटोमोबाइल्स व्यवसाय आज सरकारको उक्त अदूरदर्शी नीतिका कारण धरासायी हुने अवस्थामा पुगेको नाडाले जनाएको छ। 

नेपालको कुल आयातमा निजी प्रयोजनका कार, जीप र भ्यानजस्ता सवारीसाधनहरुको आयात १ प्रतिशत (१७ अर्बमात्र) भन्दा कम रहेको प्राप्त तथ्यांकहरुबाटै स्पष्ट हुने नाडाको भनाइ छ। ‘तर, यो क्षेत्रबाट सरकारलाई झन्डै ३९ अर्ब योगदान रहेको छ’, नाडाले भनेको छ, ‘नेपालमा पैठारी हुने हजारौँ वस्तुहरुमध्ये कार, जीप र भ्यानजस्ता सवारीसाधनहरु मात्र यस्ता वस्तु हुन्, जसले आयातको तुलनामा झन्डै दोब्बरभन्दा बढी राजश्व योगदान पुर्याउने गर्दछ।’

यस तथ्यले नेपालको बढदो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको नाडाले जनाएको छ। यसै यथार्थताहरुलाई मनन गर्दे कार, जीप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनहरुको आयातमा लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने नाडाको माग छ। 

नाडाका अध्यक्ष ध्रुव थापा अब पनि गाडीको आयातमा लागेको प्रतिबन्ध नखुलाए शोरुम नै बन्द गरेर बस्नुपर्ने अवस्था सिर्जना हुने बताउँछन्। ‘गाडीको आयातमा लागेको प्रतिबन्धका कारणले व्यवसायीहरु मर्कामा त परेका नै छन्’, अध्यक्ष थापा भन्छन्, ‘राजस्वमा नै ठूलो मात्रामा गिरावट आउँदा राज्यलाई नै प्रभाव परेको छ। हामी अटोमोबाइल्स व्यवसायीहरुले भने करिब ९–१० महिनादेखि नै ठूलो कठिनाइ भोग्नुपरेको छ।’

अटोमोबाइल्स व्यवसायीका लागि दसैँतिहारजस्तो चाडपर्वका बेलामा नै मुख्य सिजन हो। ‘यो समयमा करिब ४० प्रतिशत गाडीको बिक्री हुन्थ्यो। तर यही समयमा गाडी उपलब्ध गर्न नसक्दा सिजन नै गुम्यो’, थापाले भने। 

गाडीको स्टक नै नहुँदा मुलुकभरका धेरै शोरम बन्द भइसकेको थापाले उल्लेख गरे। ‘अहिले एउटा–दुईवटा कम्पनीबाहेकको गाडीको स्टक छैन। त्यसैले शोरुम बन्द गर्नुका साथै ठूलो संख्यामा कर्मचारीहरु पनि कटौती गर्नुपरेको छ’, उनले भने, ‘अब लागेको प्रतिबन्ध खुल्छ भन्ने नै अपेक्षा छ। अब पनि प्रतिबन्ध थप लम्बिएमा शोरुम बन्द गरेर बस्नेबाहेक अन्य विकल्प छैन।’

विदेशी मुद्रा सञ्चितिको कारण देखाएर गाडीको आयातमा प्रतिबन्ध लगाउनु नै अनुचित निर्णय भएको थापा बताउँछन्। ‘तर, अहिले विदेशी मुद्रा सञ्चितिका साथै अधिकांश आर्थिक सूचांक पनि सुधारउन्मुख छ’, उनले भने, ‘कुल आयातको करिब १ प्रतिशतमात्र कार–जिपको आयात हुने भएकाले गाडीको आयात रोकेर पनि सञ्चिति बढ्ने होइन।’

अर्थविद् डा डिल्लीराज खनाल भने अहिले सरकारले आयातमा लगाएको प्रतिबन्ध तत्काल खोल्दा अपरिपक्व निर्णय हुन सक्ने बताउँछन्। ‘अहिले सबै स्थितिले आयात खोल्न अनुकूल नदेखिनुका साथै विदेशी मुद्रा सञ्चिति पनि अहिले त्यति कम्फर्टेबल देखिँदैन’, उनले भने।

आयातमा प्रतिबन्ध गर्दा अहिले आयात घटेसँगै विदेशी मुद्रा सञ्चितिमा सुधार आएको खनालको भनाइ छ। ‘त्यसैले अब आयात खोल्दा अर्थतन्त्रमा सुधार आउने संकेत भएपछि मात्र खोल्नुपर्छ। आयात ह्वात्तै खोल्दा जोखिम बढ्न सक्छ’, उनले भने, ‘त्यसैले आयात खोल्नै पर्दा पनि सेलेक्टिभ भएर खोल्दा उचित हुन्छ।’