काठमाण्डौ । उत्तर कोरियाका शासक किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक भएका छन्।

केही दिनयता किम जोङ बेखर रहेपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी गर्न थालिएको थियो। तर शुक्रबार सरकारी मिडियाहरुका अनुसार किम जोङ एउटा खाद (रसायनिक मल) बनाउने उद्योगको उद्घाटन समारोहमा सहभागी भएको खबर सार्वजनिक गरेका छन्। समारोहमा उनकी बहिनी किम यो जोङ र केही वरिष्ठ अधिकारीहरुसहित उपस्थित रहेको भनिएको छ। 

यसअघि गत १२ अप्रिलमा किम जोङ सार्वजनिक रुपमा देखिएको थिए। त्यसपछि उनी गायब भएका थिए। लामो समयसम्म गायब भएपछि उनी गम्भीर बिरामी भएको अड्कल गरिएको थियो। 

दक्षिण कोरियाले भने किम जोङ गम्भीर बिरामी परेको खबर सही नभएको जनाएको थियो। 

यसअघि पनि किम जोङ लामो समयका लागि गायब भएका थिए। सन् २०१४ को मेको सुरुआतदेखि करिब ४० दिनसम्म उनी गायब भएका थिए। त्यतिखेर पनि उनका विषयमा विभिन्न हल्ला चलेका थिए। 

त्यतिखेर त किम जोङलाई सत्ताबाट हटाइएको खबर पनि सार्वजनिक भएका थिए। तर उनी अस्वस्थ्य रहेको खबर सरकारी मिडियाहरुमा आएका थिए। – एजेन्सी