काठमाण्डौ । गुगललाई पछि पार्दै टिकटक सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बन्न पुगेको छ।

भाइरल भिडियो एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी ‘हिट’ पाउन थालेको छ। अर्थात प्रयोगकर्ता गुगलमा भन्दा धेरै टिकटकमा जान थालेका छन्।

सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको हो। इन्टरनेटका वेबसाइटहरुको नयाँ ‘वरियता सूची’ मा यो वर्षको फेब्रुअरी, मार्च र जुन महिनामा नै टिकटकले गुगललाई शीर्ष स्थानबाट हटाएको थियो र त्यसपछि अगस्ट महिनायता टिकटक नम्बर एक स्थानमा रहँदै आएको छ।

गत वर्ष गुगल पहिलो स्थानमा र टिकटक, एमजन, एपल, फेसबुक, माइक्रोसफ्ट र नेटफ्लिक्सलगायतका साइटहरु प्रथम १० स्थानमा थिए।

क्लाउडफ्लेअरका अनुसार वेबसाइटमा जाने ‘ट्राफिक’ को निगरानी गर्ने उसको उपकरण क्लाउडफ्लेअर रेडारको प्रयोग गरेर डेटाहरु अनुगमन गर्ने गरिन्छ।

टिकटकको लोकप्रियताका पछाडि कोभिड महामारी सहायक रहेको अनुमान गरिएको छ। मानिसहरु लकडाउनका बेला घरैमा बस्नुपर्ने अवस्थामा उनीहरुले मनोरञ्जनका उपायहरु खोज्दै गर्दा टिकटकमा पनि धेरै जाने गरेको हुनसक्छ।

यो वर्षको जुलाई महिनासम्ममा टिकटक एप ३ अर्बभन्दा बढी पटक डाउनलोड भएको अर्को डेटा कम्पनी सेन्सर टावरले जनाएको छ।

बाइटडान्स नामको चिनियाँ कम्पनीको स्वामित्व रहेको सामाजिक सञ्जालको वेबसाइट टिकटकको हाल संसारभरि एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरु छन् र त्यो सङख्या बढ्दो क्रममा रहेको ठानिएको छ।

चीनमा देशको सेन्सरशीपसम्बन्धी नियमहरुको पालना गर्नेका लागि उक्त एप डोउयिन नामले चिनिन्छ र त्यो अर्कै नेटवर्कमा सञ्चालन हुन्छ।

अन्तर्राष्ट्रिय रुपमा सफलता हासिल गर्न सकेको चीनको उक्त एकमात्र एपका बारेमा चीनबाहिर राजनीतिज्ञ र नियामक निकायहरुले त्यसप्रति सुरक्षा र गोपनीयतासम्बन्धी चिन्ताहरु व्यक्त गरेका छन्। गत वर्ष टिकटकलाई त्यो एप चिनियाँ सरकार नियन्त्रित होइन भनेर खण्डन व्यक्त गर्न बाध्य तुल्याएको थियो। –बीबीसीबाट