काठमाण्डौ । गुगलले नयाँ भिडियो च्याटिङ एप ल्याएको छ । अन्य प्रतिस्पर्धी कम्पनीहरुलाई टक्कर दिने उद्देश्यले गुगलले ‘डूओ’ नामको भिडियो च्याटिङ एप लञ्च गरेको हो । 

एप्पलको फेसटाइम, माइक्रोफ्टको स्काइप र फेसबुकको मेसेञ्जरबाट हुने भिडियो च्याटलाई टक्कर दिन गुगलले नयाँ एप लञ्च गरेको बताइएको छ । 

तत्कालका लागि यो भिडियो च्याटिङ एप अन्य एपको तुलनामा खासै भिन्न छैन, तर यसमा एउटा विशेषता चाहि फरक छ । यो भिडियो च्याटमा जसले कल गर्छ, उसको पहिला तस्विर आउँछ । यसकारण कुनै पनि कल रिसिभ गर्ने या नगर्ने भन्ने फैसला कल रिसिभ गर्ने व्यक्तिले कल गर्नेको तस्विर हेरेर निर्णय लिन सक्नेछ । 

बीबीसीले गुगललाई उद्धृत गर्दै लेखे अनुसार यो फिचरको नाम ‘नक् नक् राखिएको छ । 

यो नयाँ एप सम्बन्धी घोषणा गुगलले गत मई महिनामै गरेको थियो । यो निःशुल्क सुविधा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा चलिरहेका फोन र एपलको आइफोनमा समेत उपलब्ध हुनेछ । 

फेसटाइमको जस्तै डूओमा पनि कुनै व्यक्तिलाई सम्पर्क गर्नका लागि उसको नम्बरको जरुरत पर्नेछ । 

गुगलले सन् २०१३ देखि नै ह्याङआउटको माध्यमबाट भिडियो कलिङको सुविधा दिइरहेको छ । तर अब कम्पनीले पहिलाको सुविधामा व्यापक परिमार्जन गरी थप सुविधा र विशेषता थपेर अरु विकल्प भन्दा अगाडि बढ्ने सोचका साथ काम गरिरहेको छ । 

गुगलले भनेको छ कि यो नयाँ एप निकै भरोसायोग्य छ र प्रयोगका लागि सजिलो पनि  । साथै परिवारजन एकआपसमा कुरा गर्दा एकअर्कालाई देख्न पनि सकिनेछ । 

यसैबीच, गुगलले अर्को एउटा एप पनि ल्याउने तयारी थालेको छ । सो एप म्यासेजिङ एप हो । यो कम्पनीका अनुसार सो म्यासेजिङ एपको नाम ‘एलोफिचिरिङ’ हो । जसले कुनै पनि सन्देशको जवाफ अटोमेटिक दिनसक्नेछ । यो एपले तपाईंलाई कस्तो म्यासेजको प्रतिउत्तर के दिन सकिन्छ भन्ने बिषयमा समेत सुझाव दिनेछ ।