काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले आफ्नो २६ औँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको आज बिहान सम्पन्न सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा भर्चुअल माध्यमबाट यही पुस २९ गते बुधबार काठमाण्डौको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा आयोजना गर्ने निर्णय गरेको हो। 

सभाले संस्था गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको चुक्तापुँजीको कुल १२ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा चुक्तपुँजीको ८.४ प्रतिशतले हुन आउने ६ करोड ७२ लाख रुपैयाँबराबरको बोनस सेयर र ३.६ प्रतिशत हुन आउने २ करोड ८८ लाख रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले यही पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब संस्थाद्वारा प्रस्तावित लाभांश प्राप्ति र सभामा सहभागी हुन योग्य हुन यही पुस १६ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।