काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा गुड्विल फाइनान्सका प्रमुख बित्तीय स्वस्थता दर्शाउने प्रमुख सूचकहरुमा पहिरै पहिरो गएको छ । 

यो कम्पनीको खूद नाफादेखि खूद ब्याज आम्दानी, संचालन मुनाफा हुँदै जगेडाकोषमा समेत पहिरो गएको देखिएको हो । 

कम्पनीले यो अवधिमा २ करोड ७० लाख नाफा आर्जन गरेको छ, अघिल्लो वर्ष यही अवधिमा ५ करोड ८६ लाख रुपैयाँ रहेको थियो । यो हिसाबले नाफामा करिब ५४ प्रतिशतले गिरावट भएको छ । 

व्यवसाय बिस्तारमा व्यवस्थापनले ध्यान नदिंदा १० करोड ६९ लाख रहेको खूद ब्याज आम्दानी घटेर ९ करोड २४ लाखमा सीमित बन्न पुगेको छ । 

यस्तै, ६ करोड ५८ लाख रहेको संचालन मुनाफा घटेर ४ करोड ९ लाखमा सीमित भएको छ । 

समीक्षा अवधिमा यो फाइनान्सको निक्षेप परिचालन घटेको छ भने ऋण प्रवाह बढेको छ । यो अवधिमा ५ अर्ब १२ करोड निक्षेप संकलन तथा २७ करोड १४ लाख सापटी लिएर ४ अर्ब ३५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ५ अर्ब ३९ करोड निक्षेप संकलन तथा १२ करोड सापटी लिई ३ अर्ब ६७ करोड कर्जा परिचालन गरेको थियो ।

कम्पनीले जगेडाकोषलाई समेत मजबुत बनाउन सकेको देखिएन । अघिल्लो वर्ष यही अवधिमा १५ करोड ५४ लाख रुपैयाँ रहेको कोषका आकार खुम्चिएर १४ करोडमा सीमति बन्न पुगेको छ ।

यो अवधिमा कम्पनीमा खराब कर्जाको थुप्रो लागेको छ । अघिल्लो वर्ष १.५५ प्रतिशत रहेको कर्जा २.९९ प्रतिशतको उचाईमा पुगेको छ । अघिल्लो त्रैमासमा खराब कर्जाको अनुपात २.२१ प्रतिशत मात्र थियो ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७.५५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.२३ गुणा कायम भएको छ ।