काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद सेयर यही असार १४ गतेदेखि बिक्री खुला गरिने भएको छ।

कम्पनीले चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १ः१ अनुपात (अर्थात् १ सेयरबराबर १) हकप्रद बिक्री खुला गर्ने भएको हो। यसको मतलब कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद बिक्री खुला गर्नेछ।  

हकप्रद निष्कासनका लागि कम्पनीले गत फागुन २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। यसको अर्थत फागुन २१ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीको हकप्रद खरिदका लागि योग्य हुनेछन्।

कम्पनीले साउन ४ गते बैंकिङ समयपछि हकप्रद निष्कासन बन्द हुने जनाएको छ। 

यसअघि कम्पनीले गत चैत २० गतेदेखि हकप्रद निष्काशन गर्ने भनेको थियो। तर चैत ११ गतेदेखि नै लकडाउन गरिएका कारण इन्स्योरेन्सले निष्काशन प्रक्रिया स्थगित गरेको थियो।

सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएपछि कम्पनीले हकप्रद बिक्री सुरु गर्न लागेको हो।

हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।

हाल कम्पनीको चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँ रहेको थियो। हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ८७ करोड ७० लाख २० हजार रुपैयाँ पुग्नेछ।