काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यसअघि आर्थिक वर्ष २०७४÷७५ का लागि सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश परिमार्जन गरी घटाएको छ। 

कम्पनीको गत वर्ष कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १३.१० प्रतिशतले हुन आउने १२ करोड २९ लाख ६० हजार रुपैयाँबराबरको बोनस सेयर र सो बोनस सेयरमा लाग्ने कर सम्बन्धित सेयरधनीहरुले नै बुझाउनुपर्ने प्रस्ताव गरेको थियो। सोहीबमोजिम कम्पनीले प्रस्तावित लाभांश स्वीकृतिका लागि बीमा समितिमा पठाएको थियो। तर बीमा समितिले वित्तीय विवरणमा परिमार्जन गरी वित्तीय विवरण पुनः पेस गर्न निर्देशन दिएको थियो। 

सोही निर्देशनबमोजिम लाभांश परिमार्जन गर्दै पुनः बीमा समितिमा पठाइएको कम्पनीले जनाएको छ। कम्पनीले यसअघिको प्रस्तावित लाभांश परिमार्जन गर्दै अब चुक्तापुँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र सोमा लाग्ने ५१ लाख ८६ हजार ५५८ रुपैयाँबराबरको नगद लाभांश प्रस्ताव गरेको छ। 

परिमार्जित लाभांश स्वीकृतिका लागि बीमा समितिमा पठाइएको र त्यहाँबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने कम्पनीले जनाएको छ।