काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष १ करोड ९७ लाखमा सीमित नाफा बढाएर ३ करोड ८२ लाखको उचाईमा पुर्याएको हो । 

कम्पनीले यो अवधिमा ६० करोड ५२ लाख बिमा शुल्कबाट आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४५ करोड ७१ लाख थियो । यस्तै, ७ करोड ४६ लाख कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ३ करोड ८४ लाख रुपैयाँ रहेको थियो । 

कम्पनीको लगानी कर्जा तथा अन्यबाट हुने आय १८ करोड २० लाख भएको छ । अघिल्लो वर्ष यस्तो आय ७ करोड ६० लाखमा सीमित थियो । बिमालेख धितोमा कर्जाबाट हुने आय समेत ३६ लाखबाट बढेर ८० लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा कम्पनीले जगेडाकोषलाई थप मजबुत बनाएको छ । अघिल्लो वर्ष दोश्रो त्रैमाससम्म १८ करोड २४ लाख रहेको कोषमा समीक्षा अवधिसम्म २१ करोड ३५ लाख जम्मा भएको छ । जीवन बिमा कोषमा ३ अर्ब ५६ करोड जम्मा भएको छ । अघिल्लो वर्ष २ अर्ब ५५ करोड रहेको थियो। महाविपत्ति जगेडामा २ करोड ६६ लाख रहेको छ, अघिल्लो वर्ष यस्तो जगेडामा १ करोड ६० लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा गुराँस लाइफको प्रतिसेयर आम्दानी १२.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४०.४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७३.०४ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७८९.९३ रुपैयाँ कायम भएको छ ।