काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आउँदो कात्तिक ४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७६-७७ का लागि प्रस्तावित कुल ७.८३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश छन्। 

सभाले युनियन लाइफ र प्राइम लाइफसँगको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ ।  आर्थिक वर्ष  २०७६-७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ। 

लाभांश र वार्षिक सभा प्रयोजनका लागि कम्पनीले यही असोज २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २५ गतेसम्म कायम रहने सेयरधनीमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।