काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले यही पुस २८ गते सभा डाकेको हो। सभा भर्चुअल माध्यमबाट ललितपुर हरिहर भवनमा रहेको गुहेश्वरी भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश पारित गर्नेछ। जसमा ६ करोड ४० लाख रुपैयाँबराबरको बोनस सेयर र २ करोड ७२ लाख रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्। 

सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा मर्जर वा प्राप्ति गर्ने गराउने प्रक्रियाका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई पूर्ण रुपमा प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले पुस २१ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरुमा लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।