काठमाण्डौ । निषेधाज्ञाका कारण स्थगित गोर्खाज फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को २६ औँ वार्षिक साधारणसभा पुनः डोकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो भदौ ९ गते बसेको बैठकले वार्षिक साधारणसभा यही भदौ २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सोल्टीमोडस्थित होटेल क्राउन इम्पेरियलमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरुको निर्वाचन गर्नेछ। 

संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक हेरेफेर गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक तथा आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।
सभा प्रयोजनका लागि गत वैशाख ६ गतेदेखि वैशाख २१ गतेसम्म बुक क्लोज गरेको थियो। यसको अर्थ गत वैशाख ५ गतेसम्म कायम सेयरधनीहरुले भाग लिन र मतदान गर्न पाउनेछन्।

यसअघि कम्पनीले गत वैशाख २१ गते वार्षिक साधारणसभा डोकेको थियो। तर कोरोनाको नयाँ भेरियन्टको क्रमण बढ्दै गएकोले जारी निषेधाज्ञाका कारण कम्पनीले सभा स्थगित गर्ने निर्णय गरेको थियो।