– अनन्त्य सुन्दर

काठमाण्डौ । २०७८ पुस १० गते जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र सेयर बजारका बादशाह निर्मल प्रधानको उपस्थितिमा ‘गोल्डम्यान इन्भेस्टमेन्ट लिमिटेड’ नामक कम्पनी उद्घाटन भएको थियो। उक्त कम्पनी बजारका नामुद खेलाडी दिपेन्द्र अग्रवालको नेतृत्वमा स्थापना भएको हो। कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अहिले उनी नै छन्।

कम्पनी स्थापना र उद्घाटनपश्चात् पनि अग्रवालले लगानीकर्ताहरुलाई फेसबुक, युट्युब, भाइबरलगायत विभिन्न सामाजिक सञ्जालमा संस्थापक सेयरधनी बन्नका लागि आह्वान गरेका छन्। त्यस्तै कम्पनी स्थापना भएको ५ वर्षमा ५० वटा विभिन्न क्षेत्रका कम्पनी सञ्चालन गरिनुका साथै कम्पनीमा अहिले गरिएको १० लाख रुपैयाँको लगानी अबको १० वर्षमा १० करोड रुपैयाँ हाराहारी हुने उनले दाबी गरेका छन्। 

कम्पनी ऐन २०६३ को दफा ९ अनुसार प्राइभेट कम्पनी स्थापना गर्दा सेयरधनीहरुको संख्या १०१ भन्दा बढी हुन नहुने र पब्लिक कम्पनीहरुको सेयरधनीहरुको संख्या कम्तीमा ७ जना र बढीमा जतिसुकै हुने भनिएको छ। तर, गोल्डम्यानले कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता हुनुका साथै कम्पनी सञ्चालनमा आएपछि पनि संस्थापक लगानीकर्ताहरुका लागि आह्वान गरेको छ।

धितोपत्र ऐनमा ५० जनाभन्दा बढी व्यक्तिसँग रकम संकलन गर्नुपरे नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति लिनुपर्ने भनिएको छ। तर, गोल्डम्यानले धितोपत्र बोर्डबाट अहिलेसम्म कुनै पनि किसिमको अनुमति लिएको छैन। 

त्यसका साथै कम्पनीका सीईओ दिपेन्द्र अग्रवालले विभिन्न सामाजिक सञ्जालमा आफूहरुले सेयर बजार बुझेको र लगानी गर्न जानेको भन्दै ५० लाख रकमले बजारलाई नै प्रभावित गर्न सकिने अभिव्यक्ति दिँदै आएका छन्। धितोपत्र ऐन २०६३ को दफा ९६ अनुसार बजारलाई प्रभावित गर्ने किसिमका मूल्य बढाउने, घटाउने, स्थिर बनाउनेजस्ता कुनै पनि कार्य गरिएको खण्डमा ऐनबमोजिम कारबाही गरिने भनिएको छ।

धितोपत्र बोर्डका एक उच्च अधिकारीले दिपेन्द्र अग्रवाल र गोल्डम्यानले धितोपत्र ऐन र कम्पनी ऐनको ठाडो उल्लंघन गरी काम गरिएको भेटिएसँगै थप छानबिनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पत्र लेखी पठाएको बताए। ‘धितोपत्र बोर्डमा विगतका दिनमा पनि अग्रवालले बजारलाई प्रभावित हुने किसिमको कार्य गरेको भनी उजुरीहरु आउने गर्थे’, ती अधिकारीले भने, ‘तत्कालीन धितोपत्र बोर्डका अध्यक्षले चासोका साथ लिनुभएको थिएन। यसपटक भने बोर्डका नवनियुक्त अध्यक्षले चासोका साथ लिनुभएकाले थप अनुसन्धान गर्नका लागि सीआईबीलाई पत्र काटिएको हो।’

सीआईबीका एक उच्च अधिकारीले धितोपत्र बोर्डले केही दिन अघि सीआईबीलाई गोल्डम्यान र दिपेन्द्र अग्रवालबारे थप छानबिनका लागि पत्राचार गरेको बताए। ‘धितोपत्र ऐन र कम्पनी ऐनविपरीत कार्य गरेकाले केस जटिल देखिएको छ। त्यसैले धितोपत्र बोर्डले सीआईबीलाई थप अनुसन्धानका लागि गोल्डम्यानका साथै अग्रवालको विस्तृत डकुमेन्टहरु पठाएको छ। हामीले त्यसअनुरुप नै छानबिन प्रक्रिया अघि बढाइसकेको छ।’