काठमाण्डौ । यूनाइटेड फाइनान्स लिमीटेड गोल्डलोन(सुन धितोकर्जा)को बिस्तारमा आक्रामक बन्ने भएको छ । 

गोल्डलोनकै कारण विश्वमा चिनिएको भारतको मुथुट फाइनान्सले समेत लगानी गरेपछि यूनाइटेड फाइनान्स गोल्ड लोनमा आक्रामक बन्ने देखिएको हो । 

अहिले यो फाइनान्सले गोल्ड लोन सम्बन्धी प्रडक्टलाई तीव्र प्रचारप्रसार गरिरहेको छ । 

पछिल्लो समय सुरक्षित लगानीको क्षेत्रको रुपमा देखिएको सुन धितोकर्जा(गोल्ड लोन)मा यो फाइनान्स कम्पनीले हालको पोर्टफोलियोलाई २ वर्षभित्रमा ११ गुणाभन्दा बढीले वृद्धि गर्ने रणनीति लिएको हो । 

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार हाल यो कम्पनीले ९ करोड रुपैयाँ बराबरको गोल्डलोन मात्र प्रवाह गरेको छ । तर, यसलाई बढाएर २ वर्षभित्रमा एक अर्ब पुर्याउने रणनीति लिइएको छ । 

नेपालमा यूनाइटेड फाइनान्सले मात्र नभई ठूला वाणिज्य बैंकदेखि विकास बैंक हुँदै अन्य फाइनान्स कम्पनीहरुले पनि गोल्ड लोन प्रवाह गर्दै आएका छन् । नेपालको बैंकिङ उद्योगमा गोल्डलोनको बजार करिब ३० अर्बको छ । यसमध्ये ११ अर्ब हाराहारीको कर्जा राष्ट्रिय वाणिज्य बैंक एक्लैले प्रवाह गर्ने गरेको छ । ८ अर्ब बराबरको सुन धितो कर्जा नेपाल बैंके प्रवाह गर्ने गर्दछ भने एक अर्बको हाराहारीमा नेपाल इन्भेष्टमेन्ट बैंकको लगानी रहेको छ ।

बाँकी बैंक तथा वित्तीय संस्थाको गोल्ड लोनको पोर्टफोलियो करोडमै सीमित छ । 

समग्र उद्योगमा यूनाइटेड फाइनान्सले प्रवाह गर्दै आएको गोल्ड लोनको हिस्सा अत्यन्त न्यून देखिए पनि फाइनान्स स्वयम्को लागि भने आक्रामक रणनीति बनाएर अहिलेको तुलनामा ११ गुणा बढीले गोल्डलोन बढाउने रणनीति महत्वपूर्ण बन्नसक्छ । 

यूनाइटेड फाइनान्सले भारतमा झै साना–साना गोल्ड लोनलाई समेत प्राथमिकता राखेको छ । तर, यसको अधिकतम सीमा भने तोकिएको छैन । 

सानो आकारको गोल्ड लोन भए १५ प्रतिशतसम्मको ब्याजदरमा र ठूलो आकारको लोन भए १४ प्रतिशतसम्मको ब्याजदरमा प्रवाह गर्न सकिने सीइओ मिश्रले जानकारी दिए । फाइनान्सले ५ लाखभन्दा कमको कर्जालाई सानो र त्यसभन्दा बढी कर्जा रकमलाई ठूलो आकारको गोल्डलोन मान्ने गरेको छ । 

यूनाइटेड फाइनान्सले गोल्ड लोनका लागि सुन वा सुनका गहना धितोमा राख्दा व्यवहारिक पाटोलाई समेत महत्व दिने गरेको छ । धेरै समयअघि किनिएका, तर बिल नभएका सुनका गहनाको समेत उचित मूल्याङ्कन गरी लोन दिइने गरिएका कारण सर्वसाधारणको आकर्षण बढ्दो छ । 

आधाघण्टामै लोन
यूनाइटेड फाइनान्सले सुन वा सुनका गहना लिएर सेवाग्राही आफ्ना शाखामा आएको आधाघण्टाभित्र कर्जा प्रवाह गर्ने घोषणा नै गरेको छ।

सीइओ मिश्रका अनुसार लोनका लागि धितोको रुपमा आएको सुन वा सुनका गहनाको गुणस्तर जाँच गरी तुरुन्तै लोन प्रवाह गर्नसकिने व्यवस्था गरिएको छ । 

‘हाम्रा शाखाहरुले आफ्ना छेउछाउमा रहेका सुनपसलमा गएर सुनको शुद्धता जाँच गरी आधा घण्टाभित्रै लोन प्रवाह गर्दै आएका छन् ।’ मिश्रले भने–‘गोल्ड लोनको पोर्टफोलियो बढाइसकेपछि सुन जाँच्ने मेसिन हामी आफैं राख्नेछौ, त्यसपछि झनै सहज हुनेछ ।’ 

चौबीस क्यारेट सुन वा सुनका गहना धितोको रुपमा प्राप्त गरिसकेपछि त्यसको तत्कालको बजार भाउको आधारमा मूल्याङ्कन गरिन्छ र कुल मूल्याङ्कनको ८५ प्रतिशतसम्म कर्जा दिन सकिने सुविधा समेत उपलब्ध गराइएको मिश्र बताउँछन् । गोल्ड लोनको भुक्तानी अवधि १ वर्षको हुने गरेको छ । 

पछिल्लो समय नेपाल राष्ट्रबैंकको कडाईका कारण नेपालमा सुन पसलेले सर्वसाधारणबाट महङ्गो ब्याजदरमा सुनका गहना धितोको रुपमा स्वीकार गरी तिनै गहना बैंकमा सस्तो ब्याजदरमा धितो राखी लोन लिने र १५ प्रतिशतसम्म मार्जिन खाने गरेका थिए । यो धन्दा राष्ट्रबैंकले ‘मल्टि प्याकेजिङ’ अनुमति नदिएसँगै कम भएर गएपछि बैंक तथा वित्तीय संस्थामा सर्वसाधारण सोझै गएर कर्जा लिने क्रम बढेको छ । तर, बैंक तथा वित्तीय संस्थासम्मै पुगेर सानोतिनो कर्जा लिनका लागि सर्वसाधारण उति धेरै आकर्षित भने नभइरहेको विज्ञ बताउँछन् । 

‘भारतमा गोल्ड लोनको एभरेज टिकट साइज ५० हजारको छ । गोल्ड लोन सेफ क्षेत्र समेत भएकोले फाइनान्सहरुले खुलेर लोन प्रवाह गर्छन् र लिने पनि सोझै बैंक तथा फाइनान्समै पुग्छन् ।’ एक जानकार भन्छन्–‘नेपालमा भने ५० हजारदेखि १ लाख रुपैयाँसम्म रकम चाहियो भने बैंक वा वित्तीय संस्थासम्म गहना बोकेर पुग्ने र धितो राखेर लोन लिने चलन अलिक कम छ । यसकारण समेत अपेक्षित रुपमा यहाँ गोल्ड लोनको प्रडक्ट फस्टाउन सकेको छैन ।’ 

यहीकारण नेपालमा बैंक तथा वित्तीय संस्थामा गोल्ड लोनको पोर्टफोलियो घट्दो छ । भारतमा भने बढ्दो छ । नेपालमा समेत घट्दो पोर्टफोलियोलाई बढाउन सकिने र गोल्ड लोनलाई थप सहज बनाई सर्वसाधारणले अभ्यस्त बनाउन सकिने संभावना रहेको जानकार बताउँछन् ।