काठमाण्डौ । भैरहवामा निर्माण भई अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थलबाट चल्ने भाडाका ट्याक्सीहरुमा पनि क्यूआर कोडबाट भुक्तानी प्रणालीको सुरु भएको छ। 

सनराइज बैंक लिमिटेडद्वारा प्रदान गरिएको क्यूआर कोडको शुभारम्भ नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले आज सोमबार गरेका छन्। शुभारम्भ कार्यक्रममा गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारी, सनराइज बैंक लुम्बिनी प्रदेश प्रबन्धक सुनिल मण्डल, नेपाल राष्ट्र बैक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेलगायत ट्याक्सी व्यवसायीहरु र सनराइज बैंकका कर्मचारीहरुको उपस्थिति थियो।

कार्यक्रममा निर्देशक फुयालले लुम्बिनी प्रदेशमा क्यूआर कोड विस्तार अभियानमा नेपाल राष्ट्र बैंक लागेकोले यसलाई सफल बनाउन सबैलाई आग्रह गरे। उनले विमानस्थलबाट चल्ने ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रणालीको प्रयोगले यात्रु तथा ट्याक्सीलाई अझ सुरक्षित बनाउने हुँदा ट्याक्सीहरुको विश्वसनीयता पनि बढ्ने बताए। 

कार्यक्रममा गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले नेपालमा डिजिटल भुक्तानी प्रणाली अभियान सुरु गरेकोमा नेपाल राष्ट्र बैंकलाई धन्यबाद दिँदै निकट भविष्यबाटै अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने यस विमानस्थललाई प्रविधियुक्त बनाउन जरुरी रहेकोले क्यूआर कोडलगायतको डिजिटल बैंकिंग प्रणाली विस्तार गर्न सहयोग गर्ने बताए। 

कार्यक्रममा सनराइज बैंकका प्रदेश प्रमुख सुनिल मण्डलले क्युआर कोड विस्तारमा देखिएका चुनौतीहरुलाई सहजीकरण गरिदिनका लागि नेपाल राष्ट्र बैंकलाई आग्रह गर्दै लुम्बिनी प्रदेशका जिल्लाहरुमा क्यूआर कोड भुक्तानी प्रणाली विस्तारका लागि सनराइज बैंक सक्रियताका साथ लागिरहेको बताए।

सनराइज बैंक लिमिटेड भैरहवा शाखाका प्रबन्धक हरिहर सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए।