– रेखा चन्द

काठमाण्डौ । सहकारी विभागले बचतकर्ताको रकम उठाएर सञ्चालक फरार भएपछि गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको बैंक खाता रोक्का गर्न पत्राचार गरेको छ। 

विभागले सोमबार गौतमश्री सहकारीको नाममा रहेको सबै बैंक कारोबार रोक्का गर्न राष्ट्र बैंकमा पत्राचार गरेको हो। विभागका उपरजिस्ट्रार तथा सूचना अभिकारी टोलराज उपाध्याय सबै बैंक तथा वित्तीय संस्थाहरुमा रहेको गौतमश्रीको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रमार्फत आग्रह गरेका गरिएको बताउँछन्। 

उपाध्यायका अनुसार सोमबार बेलुकासम्म विभागमा १ हजार १४५ जना बचतकर्ताबाट उजुरी परेका छन्। जसमा डेढ अर्बभन्दा बढी मागदाबी गरिएको छ। उजुरी पर्ने क्रम मंगलबार पनि जारी नै रहेको उपरजिस्ट्रार उपाध्याय बताउँछन्। ‘उक्त सहकारीका सञ्चालक र कर्मचारीलाई पक्राउ गरी विभागमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय, प्रशासन, अपराध अनुसन्धान शाखालाइ चिठी पठाइएको छ’, उनले भने, ‘यसका साथै विभागले सहकारीका जग्गा रोक्का गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई पनि पत्र पठाइएको छ। उजुरी आउने क्रम जारी रहेकोले अहिले नै उक्त सहकारीमा कति रकम हिनामिना भएको भन्ने अवस्था छैन।’ 

गौतमश्रीको मुख्य कार्यालय कुलेश्वरमा रहेको छ। बचतकर्ताहरुले बचत रकम फिर्ता गर्न नसकेर संस्थाका अध्यक्ष रामबहादुर गौतम सम्पर्कविहीन भएका थिए।

बचतकर्ताले उनीमाथि कारबाहीको माग गर्दै सहकारी विभागमा आइतबारदेखि उजुरी दिने क्रमलाई जारी राखेका छन्। गत शुक्रबार मुख्य कार्यालयमा नै ताल्चा लगाएर सञ्चालक तथा कर्मचारी भागेपछि बचतकर्ता आन्दोलित भएका हुन्। 

सहकारीका सञ्चालकले झन्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी दुई सातादेखि फरार रहेकोे बताइन्छ।  सो सहकारीले करिब साढे ५ अर्ब रुपैयाँ हिनामिना गरेको बचतकर्ताको गुनासो छ।

उता सदस्यको रकम फिर्ता दिन नसक्ने अवस्थामा रहेको सहकारी संस्थालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गर्ने व्यवस्था सहकारी ऐन २०७४ मा रहेको छ। तर, गौतमश्री सहकारीको हक भने सञ्चालन तथा अन्य कर्मचारीहरु नै फरार रहेको हुँदा मन्त्रालयले समस्याग्रस्त घोषणा गर्न सकेको छैन। यद्यपि सञ्चालक सम्पर्कमा आएपछि छलफल गरेर थप प्रक्रिया अघि बढाउने तयारीमा मन्त्रालय रहेको छ। 

यसअघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मन्त्रालयलाई ओरेन्टल सहकारी लिमिटेडसहित १२ सहकारीलाई समस्याग्रत अवस्थामा रहेको प्रतिवेदन बुझाएको थियो। 

उजुरीको तेस्रो दिन बचतकर्ताको रकम गर्ने घोषणासहित विज्ञप्ति

उजुरी परेको ३ दिनमा गौतमश्रीले बहुउद्देशीय सहकारीका अध्यक्ष रामबहादुर गौतमले एक विज्ञप्ति जारी गर्दै आफ्नो जायजेथा र सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने बताएका छन्। यद्यपि उनले कसैको सम्पर्कमा नआई गुप्त स्थानबाट रकम फिर्ताको गर्ने विज्ञप्तिमार्फत जनाएको हुन्। 

गौतमले कोरोना महामारीका कारण लगानी भएको केही कर्जामा समस्या रहेकोसमेत स्वीकार गरेका छन्। 

विज्ञप्तिमा ‘सहकारी नियमित सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोरोना महामारीको कारणले नेपालमा करिब २ वर्ष जारी रहेको लकडाउनले पारेको समस्याका कारण सहकारीबाट प्रवाह गरेको कतिपय कर्जा समयमा असुली हुन नसकेको भए पनि हामीले बचतकर्ताहरुको रकम नियमित रुपमा फिर्ता गरिरहेको र संस्था नियमित सञ्चालनमै रहेको थियो’, भनिएको छ।

जनताको विश्वास गुम्दै

पछिल्लो समय सहकारीले थुपै्रलाई ठगेको वा रकम हिनामिना गरेको तथ्यांक बाहिरिँदै आएको छ। नेपालमा हाल ३० हजारभन्दा बढीको संख्यामा सहकारी छन्। 

गौतमश्रीको घटना त एक प्रतिनिधि घटनामात्रै हो। यस्ता घटना देशभर थुुप्रै घटेका छन्। सहकारीलाई नियमन गर्ने नियमनकारी नहँुदा पनि यस्तो मनोमानी गरेको हुनसक्ने कतिपयको भनाइ छ। 

बढी ब्याजको लोभमा मानिसहरु सहकारीमा रकम राख्नतर्फ आकर्षित हुने गरेका छन्। तर, सहकारीले नै यसरी रकम नदिई फरार हुँदा बचतकताले झन समस्या खेप्नु गरेको छ। जसअनुसार सहकारीप्रति दिन प्रतिदिन आम मानिसको विश्वास घट्दै गएको छ।